भारतमा प्रगतिशील साहित्य : हिन्दीमा बेजोड नेपालीमा कमजोर

टीका भाइ (अध्यक्ष, प्रगतिशील लेखक कलाकार संघ, भारत)

टीका भाइउर्फ टीकाराम राइ प्रगतिशील साहित्य लेखन र वाचनमा बेजोड मानिन्छन् । भारतको कालिम्पोङ निवासी उनी प्रगतिशील लेखक कलाकार संघ भारतका अध्यक्ष पनि हुन् ।

कालिम्पोङमा मानवी पब्लिकेसन चलाएर जीविका धानिरहेका टीका भाइले युवा साहित्य अकादमी पुरस्कार प्राप्त गरिसकेका छन् । केवल बुख्याँचाहरू, पैताला तलतिर लगायतका चोटिला कविताहरूको संग्रह मात्र नभएर भारतमा बसोवास गर्ने गोर्खा जातिहरूको सय वर्षे इतिहासबारे खोजमूलक पुस्तक पनि उनले प्रकाशन गरेका छन् । पत्रपत्रिकाहरूमा लेखहरू लेखिरहन रुचाउने कवि टीकाभाइ भारतको प्रगतिशील साहित्यबारे यसरी बताउँछन् ।

दार्जिलिङमा भयो प्रगतिशील लेखक कलाकारहरूको भेला

सन् २०१६ मा पहिलो सम्मेलन दार्जिलिङमा भएको थियो । यो सम्मेलनमा भारतको असम, दार्जिलिङ र सिक्किम राज्यसहितका करिब दुई सयजति प्रगतिशील लेखक कलाकार भेला भएका थियौं । यही बेला प्रगतिशील लेखक कलाकार संघको गठन भएको हो ।

अहिले नयाँनयाँ अवस्थामै छाैं हामी । तर पनि हामीले संगठन विस्तारमा चासो दिइरहेका छौं । हामीले विभिन्न क्षेत्रमा क्षेत्रीय समिति भनेर छुट्याएका छौं । विभिन्न साहित्यिक गतिविधि र पत्रपत्रिका प्रकाशन गर्ने कामहरू भइरहेका छन् । र हाम्रो उद्देश्य उत्पीडित नेपाली जातिको राष्ट्रिय समस्यालाई साहित्यमार्फत जोड्ने हो ।

भारतमा प्रगतिशील साहित्य

भारतमा प्रगतिशील साहित्य हिन्दीतर्फ बेजोड छ । तर नेपाली भाषातर्फ कमजोर छ । संस्थागत रूपमा बलियो छैन । हामी भर्खरै संगठित भएका हाैं । एकता बनाएर विकासका लागि अग्रसर हुँदैछौं । भारतमा हिन्दीतर्फ प्रेमचन्द्र, निराला पन्त, राहुल साँस्कृत्यान, आदि प्रसिद्ध साहित्यकारहरू प्रगतिशील धारकै हुन् । संगठित नभएपनि उनीहरूको प्रभाव बेजोड छ । यसैगरी स्वेतादेवी, अरुन्धती रोय आदि पनि जनपक्षीय धारमै देखा परेका छन् ।

नेपाली भाषामा प्रगतिशील साहित्य

नेपाली भाषाको कुरा गर्दा हामीले दार्जिलिङका गणेश सुब्बा, वीरेन्द्र असित राई, रत्न बान्तवा, विकास गोतामे, भीम योन्जनहरूलाई सम्झन्छाैं । सिक्किमतिर पवन चाम्लिङ, भीम दाहाल, बिजयकुमार सुब्बा र असममा डा चम्पादेवी उपाध्याय, अभिकेशर शर्मा, रुद्र बराल, डा.इन्दु प्रभादेवी आदिको योगदान छ प्रगतिशील साहित्यमा ।

दार्जिलिङमा प्रगतिशील साहित्य

सन १९४६ तिर नै दार्जिलिङमा अगम सिंह गिरी, अच्छा राई, कवि वीरेन्द्रलगायतका साहित्यकारहरू संगठित भएर प्रगतिशील संघ सुरु गरेका थिए । तर त्यो संस्था विकासमा अगाडि बढ्न सकेन । लामो समयको ग्यापले प्रगतिशील साहित्यलाई संस्थागत रूपमा अगााडि बढ्न धेरै बाधा पुग्यो । प्रशस्त साहित्यको सृजना भएपनि र कलाकारहरू जन्मिए पनि उनीहरू फाट्टफुट्टको अवस्थामै सीमित बने ।

भारतमा प्रगतिशील साहित्यको विकासमा चुनौती

नेपालमा जस्तो प्रगतिशील साहित्य सृजना भारतका नेपाली भाषीहरूमा हुन सकेको छैन । र सजिलो पनि छैन । भारतमा भएको बाम आन्दोलनको प्रभाव नेपाली भाषाको प्रगतिशील साहित्यमा देखापरेको हो । यसैले भारतीय प्रगतिशील साहित्यलाई राजनैतिक आरोप लगाउने गरिएको छ । वास्तवमा प्रगतिशील साहित्यले विकृत राजनीतिसँग नै बिद्रोह गरेको हुन्छ ।

यसैले यो आरोप गलत पनि हैन । पुँजीवादी साहित्यले गरिबी बिक्री गर्दा कुनै आरोप लगाइँदैन । तर प्रगतिशील साहित्यकारलाई चाहिँ राजनैतिक भनेर आरोप लगाइन्छ । यो विभेदकारी मानसिकता हो । अर्कोतिर भारतमा आर्थिक संरचना प्रस्ट नहुँदा सर्जकहरूले स्पष्ट मार्ग पाउन सकेका छैनन् । तर पनि भारतीय साहित्य प्रगतिशीलताको हिसाबमा बलियो नै मान्न सकिन्छ ।

नेपाली भाषी भारतीयमा प्रगतिशील साहित्य

भारतमा नेपाली भाषीहरू धेरै उत्पीडनमा छन् । जसका कारण यहाँ प्रगतिशील साहित्यको विकास द्रूतगतिमा हुनुपर्नेमा नभएको पक्कै हो । यहाँ प्रगतिशील धारभन्दा प्रतिक्रान्तिकारी धारको विकास धेरै छ । किनभने भारत अंग्रेजहरूको ‘मुभमेन्ट’ भएको ठाउँ हो । यसैले पनि होला यता अंग्रेजी साहित्यको प्रभाव अलि बढी नै परेको छ । दार्जिलिङमा चियाबारी आन्दोलनपछि बल्ल प्रगतिशील साहित्य फस्टाउन थालेको हो । प्रगतिशील लेखक कलाकार संघको गठन भएपछि दार्जिलिङमा मात्र नभएर कालिम्पोङ, असम, सिक्किमलगायतका क्षेत्रमा प्रशस्त साहित्यक गतिविधिहरू हुनथालेका छन् । हामीले क्षेत्रीय रूपमा संगठन विस्तार गरिरहेका छाैं । जसले गर्दा पत्रपत्रिकाहरू प्रकाशन हुन थालेका छन् ।

नेपालमा साहित्य फस्टाएको छ

नेपालमा साहित्य धेरै फस्टाएको छ । त्यो त्यहाँको राजनैतिक आन्दोलनको चेत होला जस्तो लाग्छ । हुनत: भारतमा पहिलेदेखि नै साहित्यमा नेपालमा जस्तो बन्देज थिएन । खुला अर्थतन्त्र थियो । त्यसैले पाश्चात्य शिक्षासँग परिचित हुनेहरू भारतमा धेरै अगाडि देखिए । त्यो बेलासम्म नेपाललाई हामीले साहित्यमा जितेकै थियाैं । तर हाल नेपालमा साहित्य धेरै फस्टाएको छ । व्यावसायिकता पनि बढ्न थालेको छ । आख्यानहरू धेरै लेखिन थालेका छन् । तर हामी भारतीयहरु अझै कवितामै मात्र सीमित छौं ।

एकता आवश्यक छ

प्रगतिशील साहित्य र कलामा मात्र नभएर समग्र धारकै बारेमा निक्कै भ्रमहरू फैलाइएका छन् । जुन गलत भएपनि अझै हटिसकेका छैनन् । जसका लागि नेपाल र भारतका मात्र नभएर विश्वभरका प्रगतिशील लेखक कलाकारहरू एक हुन आवश्यकछ । यो समयको आवश्यकता पनि हो । सबैतिरका प्रगतिशीलहरूको कष्ट, वेदना एउटै हो । हामी संस्थागत एकताका लागि प्रयासरत छौं । प्रगतिशील लेखक कलाकाहरूको दायरा बढ्यो भने साझा संघर्ष अगाडि बढाउन सहज हुन्छ ।

Loading...