चीनमा कोरोना भाइरसबाट थप १७ जना सङ्क्रमित

बेइजिङ, ४ जेठ । चीनमा कोरोना भाइरसबाट थप १७ जना नयाँ सङ्क्रमित फेला परेका छन् । यी मध्ये १२ संक्रमितहरूमा लक्षण देखिएका छैनन् ।

यससंगै लक्षण नदेखिएका संक्रमितको संख्या ५ सय १५ पुगेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको सुरुवात भएको चीनमा फेरी पनि संक्रमितहरू बढ्ने क्रममा छ ।

कोरोना भाइरसको उद्गमस्थल मानिने वुहानमा केही समय सङ्क्रमण रोकिएको बताइए पनि अहिले फेरि सङ्क्रमित हुनेहरूको संख्या बढ्दै गएको हो ।

कोरोना भाइरसबाट सङ्क्रमित हुनेहरू थपिने क्रम नरोकिएपछि वुहानमा आम परीक्षणलाई अभियानका रूपमा सञ्चालन गरिएको छ ।

वुहानका एक करोड दश लाख मानिसमा कोरोना भाइरसको सङ्क्रमण भए–नभएकोबारे स्वास्थ्य परीक्षण गरिएको छ ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले देशको जिलिन प्रान्तमा शनिबार थप पाँचजना सङ्क्रमित भेटिएको जनाएको छ । जसमध्ये तीनजनामा स्थानीय सङ्क्रमण भएको हो । कोरोना भाइरसबाट सङ्क्रमितहरूको संख्या बढ्दै जान थालेपछि जिलिन सहरमा यसै हप्तादेखि लकडाउन लागू गरिएको छ । शनिबार थपिएकासँगै चीनमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूको संख्या ८२ हजार ९ सय ४७ पुगेको छ ।

सङ्क्रमितमध्ये ८६ जना उपचाररत अवस्थामा छन् भने ७८ हजार २ सय २७ जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।

चीनमा कोरोना भाइरसबाट सङ्क्रमित भएर अहिलेसम्म ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ ।

Loading...