यसकारण हालाण्ड ‘पर्फेक्ट’ स्ट्राइकर

एजेन्सी, ४ जेठ । कोरोना महामारीपछि सुचारु भएको जर्मन बुन्डेसलिगामा पहिलो गोल गर्ने खेलाडी बने इयर्लिङ हालाण्ड । उनले खेल सुरु भएको २८औं मिनेटमा गोल गर्दै घरेलु मैदानमा शाल्खाविरुद्ध बोरुसिया डर्टमुन्डलाई अग्रता दिलाए ।

यति मात्र नभई हलान्डले आफ्नो खेल कौशल कत्तिको उत्कृष्ट छ भनेर सारा संसारलाई पुनः साबित गरिदिए । घरेलु मैदानमा भएको खेलमा डर्टमुन्डले ४–० को शानदार जित निकाल्यो जसमा हालाण्ड एक गोल र एक असिस्ट गरे ।

आखिर के छ त्यस्तो जसले यी १९ वर्षीय नर्वेजियन युवा खेलाडीलाई यस्तो ‘पर्फेक्ट’ स्ट्राइकर बनाइरहेको छ ? स्पेनसि खेल पत्रिका ‘मार्का’ र बार्सिलोनास्थित ‘एमबीपी स्कूल’ले हालाण्डबारे गरेको विश्लेषण यस प्रकार रहेको छः

अट्याकिङ मुभमेन्ट

हालान्ड विपक्षी टिमका डिफेन्डरहरूसँगै रहेर खेल्न मन पराउँछन् ताकी उनीहरूको बीचमा रहेको खाली स्पेशमा बल खेलाउन सकूँ । यस्तो अट्याकका लागि स्ट्राइकरले आफ्ना टिमका अन्य खेलाडीहरूले विपक्षी डिफेन्डरहरूबीचमा रहेको खाली ठाउँमा कति बेला बल पास गर्छन् भन्ने विषयमा ज्यादै चनाखो रहनुपर्छ ।

विपक्षी गोलरक्षक र डिफेन्डरबीचको दूरीलाई विशेष मध्यनजर गर्दै पास गरिएका यस्ता बललाई सुन्दर गोलमा परिणत गर्न हालान्ड माहिर छन् । उनी आफ्ना सहकर्मीहरूको अट्याकिङ मुभमेन्टलाई चाँडै बुझ्छन् र विपक्षी डिफेन्डरहरुलाई छल्न सिपालु छन् ।

बक्सभित्रका क्रस

एउटा राम्रो स्ट्राइकर आफूलाई ध्यान दिइरहेका विपक्षी खेलाडीलाई आफूसँगै ‘मूभ’ गराएर पेनाल्टी क्षेत्रमा स्पेश सिर्जना गर्ने कोशिस गर्छ । र, यस कामका लागि हालाण्ड निपूर्ण छन् । आफूलाई मार्क गरिरहेका डिफेन्डरलाई पहिले मूभ गराएर खाली स्पेश सिर्जना गर्छन् र पछि सहकर्मीबाट पाएका क्रसलाई स्थान परिवर्तन गर्दै आकर्षक गोल गर्छन् ।

यस्तो खेल त्यस्तो टिमले प्रदर्शन गर्ने गर्छ जसले विपक्षीलाई छल्याउँदै पेनाल्टी क्षेत्रबाट गोल गर्न चाहन्छ ।

स्कोरसँगै असिस्ट

हालाण्ड गोल स्कोर गर्न मात्र हैन आफ्ना सहकर्मी खेलाडीहरूलाई असिस्ट गर्न पनि उत्तिकै माहिर छन् । उनी बल अघि बढाउँदै विपक्षी डिफेन्डरहरूको ध्यान आफूतिर केन्द्रित गर्छन् र आफूभन्दा राम्रो स्थानमा रहेका खेलाडीहरूलाई गोल गर्न असिस्ट गर्छन् । यसले एउटा टिमको खेलाडीहरूबीच राम्रो लिंक–अप हुन मद्दत गर्छ र टिमलाई विपक्षीविरुद्ध स्कोर गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।

प्रेसिङ

स्ट्राइकरहरू टिमको पहिलो डिफेन्स हुन् । त्यसैले, विपक्षीहरूलाई सबैभन्दा पहिले स्ट्राइकरहरूले ‘प्रेस’ गर्नुपर्छ ताकी आफ्नो क्षेत्रभन्दा बढी बल विपक्षीको क्षेत्रमा होस् । युवा स्ट्राइकर हलान्ड यो कार्यको लागि दक्ष छन् । उनलाई बलको लागि विपक्षीलाई कतिबेला र कुन समयमा प्रेस गर्नुपर्छ भन्ने राम्रो ज्ञान छ ।

यस किसिमको खेल्ने तरिकाले विपक्षीहरूले चाँडै गल्ती गर्ने गर्छन् र त्यसको सजाय हालाण्ड जस्तो उत्कृष्ट स्ट्राइकरले विपक्षी गोलपोस्टमा गोलको वर्षा गरेर दिन्छन् ।

Loading...