कोरोनाबाट दोस्रो मृत्यु, बाँकेमा मृत्यु भएका युवकमा कोरोना पुष्टि

राँझा, ४ जेठ । बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवकको मृत्यु कोरोनाबाट भएको खुलेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।

३० वैशाखमा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा बसेका ती युवकको आज बिहान एक्कासी स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टाइनमै मृत्यु भएको हो ।

बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नुअगावै युवकको मृत्यु भएको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले रातिदेखि स्वास्थ्यमा समस्या देखिएकामा बिहान करिब ६ बजे युवकको मृत्यु भएको जानकारी दिए ।

कोरोना परीक्षणका लागि मृतक युवकको स्वाब शनिबार नै संकलन गरिएको थियो । र, आइतबार रिपोर्ट आउँदा पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

Loading...