माने नभित्र्याउन बार्सिलोनालाई जाभीको सुझाव

एजेन्सी, ४ जेठ । कतारी क्लब अल सादका प्रशिक्षक जाभी हर्नान्डेजले लिभरपुलका फरवार्ड साडियो माने नभित्र्याउने पूर्वक्लब बार्सिलोनालाई सुझाव दिएका छन् ।

हालै दिएको एक अन्तर्वार्ताको क्रममा बार्सिलोनाका पूर्वखेलाडी जाभीले माने अनुबन्ध नगर्न पूर्वक्लबलाई सुझाव दिएका हुन् ।

सेनेगलका स्टार माने पछिल्लो समय जर्गेन क्लोप नतृत्त्वको टोली लिभरपुलमा उच्च प्रदर्शन गरिरहेका छन् ।

उनले लिभरपुललाई यूईएफए सुपर कप र फिफा क्लब विश्वकप जित्न सहयोग गरेका छन् ।

त्यसबाहेक घरेलु लिगमा २५ अंकको स्पष्ट अग्रता दिलाउनका लागि मानेको महत्त्वपूर्ण भूमिका छ ।

स्पेनका केही रिपोर्टअनुसार बार्सिलोनाले आफ्ना स्टार लुइस स्वारेजको स्थानमा उनलाई ल्याउन चाहेको छ ।

बार्सीलोनाले चोटग्रस्त र क्लब छोड्ने चर्चामा रहेका स्वारेजको स्थानमा माने ल्याउने विषय पछिल्ला केही महिनायता चर्चामा छ ।

तर, बार्सिलोनाका लिजेन्ड जाभीले भने पूर्वसहकर्मी स्वारेजको तुलनामा माने क्याप नोउमा फिट नहुने बताएका छन् ।

‘माने र औबामेयाङ खाली ठाउँ मात्र खान्छन् । तर, बार्सिलोनालाई त्यस्ता खेलाडी चाहिएको छ, जो सानो ठाउँमा अटुन्,’ उनले भने ।

‘मलाई लाग्छ बार्सिलोनामा फिट हुने खेलाडी खोज्न त्यति सहज छैन । सामुअल इटो स्वारेजको स्थानका लागि ठीक थिए,’ उनले भने ।

Loading...