संक्रमितको शवबाट कोरोना भाइरस सर्ने सम्भावना कति

एजेन्सी, ४ जेठ । कोभिड- १९ को बिरामीको मृत्युपछि पोस्टमोर्टमबाट रोग फैलनसक्ने आशंका र सङ्क्रमितको शरीरबाट भाइरस सर्नसक्ने सम्भावनाले शव बोक्ने वा अन्तिम संस्कार गर्ने मानिसहरूमा डर पैदा गरिदिएको छ ।

के मृतकको शरीरले कोभिड- १९ फैलाउन सक्छ ? अन्तिम संस्कार गर्नु कत्तिको सुरक्षित हुन्छ ? शवलाई जलाउनु ठीक कि गाड्नु ? जस्ता विभिन्न प्रश्नहरू मानिसको दिमागमा घुमिरहेका छन् ।

बीबीसीमा उल्लेख गरिएअनुसार विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले आवश्यक सावधानी अपनाइएको खण्डमा मृतकको शरीरबाट कोभिड-१९ सर्छ भनेर डराउनुपर्ने कुनै कारण नहुने जानकारी दिएका छन् ।

कोभिड १९ रोग फैलाउने सार्स-कोभ-२ भाइरस विशेषगरी मानिसहरूले निकाल्ने थुक वा र्‍यालका छिटाहरूबाट सर्छ ।

बोल्दा, हाच्छिउँ गर्दा वा खोक्दा यस्ता छिटाहरू निस्कन्छन् । भने कतिपय कडा सतहहरूमा यी भाइरस केही दिनसम्म जीवित रहन सक्छन् ।

आजसम्म मृतकको शरीरबाट जीवित मान्छेमा यो भाइरस सरेको प्रमाण नभेटिए पनि भाइरस सर्ने सम्भावना हुनसक्ने पान-अमेरिकन हेल्थ अर्गनाइजेसनका प्रवक्ता विलियम अडुक्रोले बताएका छन् ।

संक्रमितको मृत्यु भएपछि पनि रोकथाम र नियन्त्रणको अभ्यास गर्नुपर्छ ।

डब्लूएचओले गत मार्चमा जारी गरेको एउटा निर्देशिकामा रक्तस्राव हुनेखालका ज्वरोहरू (इबोला) र हैजालाई छाडेर आम रूपमा मृतकको शरीरबाट सङ्क्रमण नहुने उल्लेख गरिएको छ ।

यदि महामारीयुक्त इन्फ्लुएन्जा भएर मृत्यु भएकाहरूको फोक्सोलाई चिरफारका बेला सही तरिकाले सम्हालिएन भने रोग सर्नसक्छ ।

चिरफारका बेला ती भाइरसहरू बाहिर आउन सक्छन् । त्यसमा प्रयोग भएका उपकरणहरूमा पनि ती बस्न सक्छन् ।

सावधानी अपनाएको खण्डमा शवबाट रोग नसर्ने निर्देशिकामा उल्लेख छ । कोभिड-१९ लागेर ज्यान गएकाहरूको शव गाड्ने वा जलाउने कार्य सुरक्षितरूपमा व्यवसायिक मानिसहरूले गर्नुपर्छ ।

Loading...