भारतीय टिभीका अभिनेता मनमीतले गरे आत्महत्या, मद्दत गर्नुको सट्टा छिमेकिहरूले गरे भिडियो रेकर्ड

एजेन्सी, ४ जेठ । भारतीय टिभीका अभिनेता मनमीत ग्रेवालले आत्महत्या गरेका छन् । सब टिभी कार्यक्रम ‘आदत से मजबूर’ मा अभिनयका लागि लोकप्रिय मनमीतले शुक्रबार राति आत्महत्या गरेका हुन् ।

खार्गरमा आफ्नी श्रीमतीसँग बस्दै आएका मनमीत कोरोना भाइरसका कारण काम गुमाउँदा आर्थिक तनावमा थिए ।

मनमीतको साथी मनजित सिंहले सम्पूर्ण घटनाको विवरण दिएका छन् । उनका अनुसार मनमीतले आफ्नो कोठाको ढोका बन्द गरेर सलको प्रयोग गरी फ्यानमा झुण्डिएका हुन् ।

उनले भनेः त्यो साँझ ऊ सामान्य थियो, कोठामा गएर भित्रबाट लक गर्‍यो । त्यो समय उनकी श्रीमती खाना पकाउँदै थिइन् ।

कुर्सीको आवाज सुनेपछि उनकी पत्नी कोठामा गएर उनलाई समातिन् । सहयोगको लागि धेरै चिच्याएपछि छिमेकीहरू हल्ला सुनेर त्यहाँ आए तर, उनलाई सहयोग गर्न कोही पनि अगाडि आएनन् ।

फ्ल्याटमा भेला भएका छिमेकीहरूले मनमीतलाई हेरेर बसे, उसलाई तल ल्याउन मद्दत गर्नुको सट्टा भिडियो रेकर्ड गरेर बसे ।

मनमीतमा कोरोना भाइरस छ भन्ने डरका कारण उनको शरीरलाई छुनु सबैले अस्वीकार गरे ।

त्यसपछि एक पियुन आएर सल काटेर उनलाई तल झारियो । दुई घण्टाको ढिलाइपछि एम्बुलेन्समा अस्पताल लागिएको मनमीतलाई मृत घोषित गरियो ।

पञ्जाबमा मनमीतको परिवारले भिडियो कलमार्फत अन्त्येष्टिमा भाग लिएका थिए ।

Loading...