विश्व उच्च रक्तचाप दिवस : लकडाउनको बेला घरैमा मीठो खाने र शारीरिक व्यायाम नगर्दा रक्तचाप बढ्ने

विराटनगर, ४ जेठ । आज १७ मे अर्थात् विश्व उच्च रक्तचाप दिवस । सामान्य भाषा यसलाई हाई ब्लडप्रेशर वा हाईपरटेन्सन पनि भनिन्छ ।

सामान्य रक्तचाप भनेको १२०/८० हो । माथिल्लो ब्लड प्रेसर १४० अथवा त्यसभन्दा बढी र तल्लो ब्लड प्रेसर ९० वा त्यसभन्दा बढी पुगे उच्च रक्तचाप भएको मानिन्छ ।

उच्च रक्तचाप भएको व्यक्तिमा टाउको दुख्ने, झुम्म पार्ने जस्ता लक्षण देखापर्न सक्छन् वा कुनै पनि लक्षण नदेखिन पनि सक्छ ।

जीवनमा उच्च रक्तचाप हुने खतरा ९० प्रतिशतसम्म हुनसक्छ । यसले हृदयघात गराउने, किड्नी फेल गराउने, पक्षघात गराउने गर्छ ।

बदलिँदो तथा ब्यस्त जीवनशैली, प्याकेट तथा प्रशोधीत खानेकुरा, व्यायामको कमी, चाहनाहरुको गुणन गर्ने र नचाँहीदो सम्पत्ति र प्रगतीको प्रतिस्पर्धाले मानिसलाई हाईपरटेन्सीभ बनाउँदैछ ।

हामीसबै हाईपरटेन्सनको जोखिममा हुने हुँदा सतर्क हुन जरुरी छ ।

औषधिको सेवन र डाक्टरकोमा वर्षभरि धाउनुको साटो समयमा शरीरलाई जाँच गराएर सचेत हुँदा शरीरमा गम्भीर रोग लाग्ने सम्भावना कम हुन्छ ।

प्रेसरको रिस्क फ्याक्टर भनेको मोटोपना पनि हो ।

त्यसपछि, परिवारमा कसैमा प्रेसरको समस्या भएमा, बंशानुगत कारणले, धुम्रपान, रक्सी तथा सूर्तीजन्य पदार्थको सेवन, चिल्लो तथा मसालेदार खानेकुरा, रेडिमेड जंकफुड, शारीरिक व्यायामको कमी नै प्रेसरका मुख्य कारक हुन् ।

कोरोना भाइरसको जोखिमलाई कम गर्नका लागि गरिएको लकडाउनका कारण घरैमा बस्ने र मीठो मीठो खाने अनि शारीरिक व्यायामसमेत नगर्नेका लागि उच्च रक्तचाप बढ्ने खतरा अझ बढेको छ ।

उच्च रक्तचापबाट बच्नका लागि धुम्रपान, मदिराबाट टाढा रहने, दैनिक ब्यायाम गर्ने, खेलकुदमा आफूलाई संलग्न गराउने, ठिक्क समय सुत्ने, पर्याप्त मात्रामा पानि पिउने, प्याकेट तथा प्रशोधित खानेकुराको सेवन नगर्ने वा निक्कै कम गर्ने, शरीरको अनावश्यक तौल घटाउने गर्नुपर्छ ।

Loading...