फ्रन्टलाइनरको अनुभवः दुधे बालक छोड्दा घरमा रुवाबासी, कोराना संक्रमित देख्दा काम गर्ने साहस

यति बेला देशलाई हाम्रो जरुरत छ

विराटनगर, ३ जेठ । काखमा २९ महिनाको दुधे बालक छ । ठूली छोरी मात्र ६ वर्षकी छन् । स्कुल हेल्थ नर्स प्रमिला ढकाल (परी) लकडाउन सुरु भएयता दुई छोराछोरीको स्याहारमा केन्द्रित थिइन् ।

छाेरा र छाेरीसँग प्रमिला

गत माघबाट बिर्तामोडको दुर्गा माविमा कार्यरत प्रमिलालाई सामाजिक विकास मन्त्रालयबाट फोन आयो “तपाई कोरोना संक्रमितको उपचारका लागि विराटनगर आउनुपर्ने भयो ।”

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रासले उनलाई छाडेको थिएन । तर पेशा नै नर्सिङ भएका कारण अस्पताल आउन राजी भइन् ।

अस्पताल आउने दिन नजिकिँदै गर्दा उनले दुधे बालक छोरालाई सम्झिइन् । “छोरो अढाई वर्ष पुग्नै लाग्या छ । तर आजसम्म एक्लै छाडेको थिइनँ ।” उनले भनिन् “सुरु सुरुमा छोरो छोडेर जाँदा फर्कन्छु कि फर्कन्न भन्ने चिन्ता भयो ।”

तर जिम्मेवारीका अगाडि परिवारलाई छोडेर कोरोना संक्रमितकाे सेवामा जुट्ने साहस गरिन् ।
उनलाई लिन प्रदेश सरकारले गाडी झापा भद्रपुर गाडी पठायो ।

भद्रपुरबाट विराटनगर आउँनै लाग्दा घरमा रुवाबासी चल्यो । बालख छोराछोरी एकतिर रोए । श्रीमान र सासु आमा अर्कातिर । गाडी चढेकी उनका आँखा पनि आधा बाटोसम्म ओभाएनन् ।

“म पनि रुँदैरुँदै गाडी चढेको थिएँ ।” उनले भनिन् “कहिल्यै नछोडेको छोरो नजानु भन्दै थियो ।”

विराटनगर आएको दिन उनी जैन भवनमा बसिन् । पहिलोपटक छोराबाट टाढा बस्नु परेका कारण उनलाई निद्रा लागेन । घर फर्कन पाउँछु कि पाउँदिन भन्ने चिन्ता थियो । तर भोलिपल्ट तालिम लिइन् । तालिमबाट काम गर्ने साहस जुट्यो ।

१० वैशाखमा कोरोना संक्रमितको उपचारका लागि आएकी उनी आफ्नो डिउटी पूरा गरेर शुक्रबार घर फर्किइन् ।

उनी घर फर्कदा शुक्रबार पनि खुसीले रुवाबासी चल्यो । २३ दिनपछि घर पुग्दा सासुआमा, श्रीमान र ६ वर्षीया छोरीले फूलमाला र अबिरले स्वागत गरे ।

२३ दिन छुट्टिएको छोरोले आमालाई देख्नेबित्तिकै अंगालो हाल्यो । त्यसपछि खुशीले सबैका आँखा रसाए ।

मर्छु भन्ने त्रास, तर संक्रमितलाई देख्दा काम गर्ने साहस

विराटनगर आएको दुई दिनपछि १२ वैशाखबाट उनको डिउटी कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा सुरु भयो । पहिलो दिन निक्कै डराएकी थिइन् । अस्पतालको स्टाफ रुममा रहेका डाक्टरले को डराएको छ ? भन्दा उनले हात उठाइन् । डाक्टरले डर भगाउन भन्दै विरामीलाई भेट्न पठाए ।

विरामीलाई भेट्न जाँदा उनका हातखुट्टा काँपे । साहस जुटाएर संक्रमित बसेको वार्डको ढोका खोलिन् । “बेडमा झापा दमकको बुबालाई डरले काँपिरहेको देखेँ ।” उनले भनिन् “बुबाको डर देखेर मलाई साहस आयो, जसोतसो काउन्सेलिङ गरेपछि बुबा अलिक डरमुक्त हुनुभयो ।”

उनलाई देख्दा ६३ वर्षीय वृद्धले सहज महशुस गरे । त्यसपछि उनले आफूलाई कहिल्यै डराएको महशुस गरिनन् । “यस्तो अवसर धेरैले चाहेर पनि पाउँदैनन्, मैले त पाएँ ।” उनी भन्छिन् “दुधे बालक छोरालाई छोड्दाको पीडा बुबाको खुसीमा बिर्सिएँ ।”

सात दिन सेवा, १४ दिन क्वारेन्टाइन

झापाबाट आएको दोस्रो दिनदेखि उनी कोरोना संक्रमितको उपचारमा सात दिन खटिन् । त्यसपछि १४ दिन प्रदेश सरकारले होटलमा बनाएको क्वारेन्टाइनमा बसिन् ।

“सुरुमा डर धेरै लाग्यो, कामको प्रस्ताव आउँदा सुत्नै सकिनँ ।” विगत सम्झँदै उनले भनिन् “घर छोड्दै गर्दा यो नै अन्तिम भेट हो कि, फर्कन पाउँदिन कि भन्ने चिन्ता थियो ।” तर काेराेना अस्पताल प्रवेश गरेपछि काम गर्ने साहास जुट्याे । २३ दिनपछि घर फर्कदा खुसीकाे सीमा रहेन ।

“सबैको मनमा डर त हुन्छ । तर हामी फ्रन्टलाइनरले डराएर हुँदैन ।” उनी भन्छिन् “ यतिबेला देशलाई हाम्रो जरुरत छ । हामीले काम गर्नुपर्छ ।”

छोरो बोल्न मानेन

कोभिड अस्पतालको डिउटी सकिने बित्तिकै उनी परिवारमा सम्पर्क गर्थिन् । तर भिडियो कल गर्दा छोरोले बोल्न मानेनन् । दुध नखाई नसुत्ने छोरो हजुरआमासँग सुते । तर अामा नदेख्दा उनकाे स्वभाव नै परिवर्तन भएकाे थियाे ।

राति पटकपटक बुबु खाने भन्दै छाेराे बिउँझिन्थे तर अामा नदेख्दा उनी नबाेली सुत्थे । “छोरा सुत्न नमानेर ममीले राती ओछ्यान भरी खेलौना राखिदिनुहुन्थ्यो ।” उनले भनिन् “खेल्दा खेल्दै निदाउँथ्यो अरे ।”

उनका दुबै सन्तान बुझ्न सक्ने अवस्थाका छैनन् । ठूलो भएपछि आफ्नी आमाले महामारीका बेला गरेको योगदान सम्झने आशामा छिन् प्रमिला ।

फ्रन्टलाइनरको अनुभवः दुधे बालक छोड्दा घरमा रुवाबासी, कोराना संक्रमित देख्दा काम गर्ने साहस

काखमा २९ महिनाको दुधे बालक छ । ठूली छोरी मात्र ६ वर्षकी छन् । स्कुल हेल्थ नर्स प्रमिला ढकाल (परी) लकडाउन सुरु भएयता दुई छोराछोरीको स्याहारमा केन्द्रित थिइन् । गत माघबाट बिर्तामोडको दुर्गा माविमा कार्यरत प्रमिलालाई सामाजिक विकास मन्त्रालयबाट फोन आयो “तपाई कोरोना संक्रमितको उपचारका लागि विराटनगर आउनुपर्ने भयो ।”https://www.koshionline.com/2020/05/16/199415.html

Posted by Koshi Online on Saturday, May 16, 2020
Loading...