किसान बाँचे सबै बाँच्छन्

रामप्रसाद पौडेल

नेपालमा एउटा सोच व्याप्त छ, तरक्की गर्नका लागि कृषि छोड्नुपर्छ । हुन पनि राज्यले सबैभन्दा बढी हेला गरेको र आम जनताले पनि वेवास्ता गरेको क्षेत्र बनेको छ कृषि ।

त्यसैले यहाँ आफ्ना बालबालिकालाई‘भविष्यमा के बन्छौ’ भनेर कसैले प्रश्न गर्दा ‘डाक्टर, इन्जिनियर र पाइलट’ भनेको सुन्न चाहने अभिभावक छरपष्ट छन् ।

आफ्नो उर्वर भूमि बाँझै राखेर पैसा कमाउन अर्काको गुलाम बन्ने युवाहरू अनगिन्ती छन् । अलिकति पढेलेखेको जस्तो देखिने कुनै पनि अभिभावक आफ्ना बालबालिकालाई किसान बनाउन चाहँदैन ।

उसले बच्चा कोखमा अएदेखि नै सपना देख्न थाल्छ, ‘म यसलाई ठूलो मान्छे बनाउँछु तर किसान बनाउँदिन ।‘ लाग्छ, किसानहरू ‘साना मान्छे’ हुन् । उनीहरू तल्लोस्तरका हुन् ।


तर वास्तविकता अर्कै छ । मान्छेले जति नै पैसा कमाए पनि उसले पैसा खान सक्दैन । उसले पैसामा ऒछ्यान लगाएर सुत्नसम्म सक्ला तर खानका लागि उसलाई अनाज नै चाहिन्छ । अनाज पेटमा नपरे, धेरै दिनसम्म उसको प्राण टिक्दैन ।

हो, यसरी नै आफू सानो मान्छे भनिन तयार भएर अरूको प्राण बचाउनका लागि अनवरत पसिना बगाउने परिश्रमी व्यक्तित्वहरू मध्ये एक हुन् ग्रामथान ३, सिधराहा मोरङका श्रीनारायण चौधरी ।

निरन्तर पसिना सिञ्चेर मानिसमा त्राण भर्ने अन्न उब्जाउन उनले कहिल्यै हरेस मानेका छैनन् । भन्छन्– “हाम्रो त जिन्दगी यसरी नै बित्ने हो ।” यसपटक आफ्नो परिश्रमको उचित मूल्य नपाएकोमा भने उनी चिन्तित देखिए ।

“लकडाउनले गर्दा हटिया लाग्न छोड्यो, टाढा बेच्न जान मिलेन । उत्पादनले भाउ पाएन । लगानी सबै डुब्ने भयो ।” गएको हटियामा पाँच रूपैयाँमा २ किलो काँक्रो बेचेर आउनुपरेको उनले सुनाए ।

छिमेकका अरू धेरैले यो सिजनमा जमिन बाँझै छोड्छन् । बाँझो जमिन भएकोले पशु चौपाया खुल्ला छोड्ने र तिनले बाली नाश गर्ने सम्भावना उत्तिकै छ ।

तर चौधरीले भने आफ्नो जमिनमा काँक्रो, भिन्डी, फर्सी, लौका, खुर्सानी र मकै लगाएका छन् । अघिल्ला वर्षहरूमा यी उत्पादनहरूले राम्रै भाउ पाउँथे तर यसपटक सस्तोमा समेत बेच्न नसकेको चौधरी बताउँछन् । भन्छन्–“फर्सी त नबिकेर बारीमै छिप्पियो ।”

आम किसानहरूको जस्तै श्रीनारायणको पनि सरकारसँग केही गुनासाहरू छन् । “सरकार त सबैको अभिभावक हो नि १ जनताले खाए नखाएको, उनीहरूले दुःख पाएको त देख्नुपर्छ नि १”वर्षौंदेखि मल र गुणस्तरीय बीउको अभाव भइरहेको थाहा पाउँदा पाउँदै पनि केही गर्न नसकेकोमा सरकारप्रति सबै किसानहरू असन्तुष्ट छन् ।

चौधरी भन्छन् “किसान बाँचे सबै बाँच्छन्, किसानै नरहे ठूला मान्छेहरूले पनि के खाएर बाँच्ने हो रु” थप्छन्–“किसानको नाममा अलिअलि अनुदान छ भन्ने सुन्छु ।

कुनै किसानले पाएको देख्दिन । नक्कली किसान खडा गरेर पैसा सक्छ । किसानले मल, बीउ, पाउँदैन । किहलेकाहिँ रोग लागेर बाली सखाप हुन्छ । राज्यबाट कुनै सहायता मिल्दैन । किसान धुरूधुरू रोएर बस्नुपर्छ, कसैले देख्दैन ।”

अहिले पनि सरकारले सहयोग गरिदिँदा आफ्नो उत्पादनले बजार पाउने चौधरीको ठहर छ । “हटिया मात्रै राम्रोसँग लाग्न दिए पनि हाम्रो सामान बिक्थ्यो ।डन्डा बोकेर पुलिस घुम्छ ।

सामानको भारी बोकेर कता–कता दौडिनु रु रोगको डर देखाएर मानिसलाई घरमै थुनिराखेको छ । रोगले भन्दा पहिल्यै अभावले मार्ला जस्तो छ ।”

हरेक वर्ष हरियो मै मकै बेच्ने उनले यसपटक एक घोगा पनि बेच्न पाएका छैनन् । “अब केही दिन यस्तै हुने हो भने, मकै पनि बोटमै सुक्छ ।” उनी भन्छन्–“हरियोमा बेच्दा राम्रो फाइदा हुन्थ्यो, सुकेपछि त पिनेर गाई–बस्तुलाई खुवाउने हो ।”

उनका कुनै पनि उत्पादनले यसपाली बजार पाएका छैनन् । कृषिमै निर्भर भएर ६ जनाको परिवार पालिरहेका श्रीनारायणको अर्को कुनै आम्दानीको श्रोत छैन ।

“तरकारी बेचेर नुन तेल धान्नुपर्छ । रोग बिमार र अन्य जुनसुकै खर्च पनि अनाज बेचेरै जुटाउने हो ।” श्रीमतीको क्यान्सरको उपचारमा धेरै खर्च गरेका चौधरी आउँदा दिनहरू निकै अँध्यारो देख्छन्, भन्छन्– “जीवन धान्नै गाह्रो हुन लाग्यो । यसरी नै त कसरी चल्ला र जिन्दगी ? ”

Loading...