नीति तथा कार्यक्रममा प्रतिपक्षी नेताहरुको प्रतिकृया – ‘मुलुकलाई संकटबाट बाहिर निकाल्न नसक्ने’

काठमाडौं, २ जेठ । प्रमुख प्रतिपक्षी दलका नेताहरुले ‘प्राथमिकता गुमाएर आएको नीति तथा कार्यक्रम’ले मुलुकलाई संकटबाट बाहिर निकाल्ने नसक्ने प्रतिक्रिया दिएका छन् ।

नीति तथा कार्यक्रम सार्वजनिक गरिएपछि कांग्रेसका नेताहरुले वर्तमान आवश्यकताको प्रथामिकता सरकारले सम्बोधन गर्न नसकेको प्रतिक्रिया दिए ।

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले सरकारले प्राथमिकता गुमाएर ल्याएको नीति र कार्यक्रमले मुलुकलाई संकटबाट बाहिर निकाल्न नसक्ने बताए ।

‘ ६३ पानाको नीति कार्यक्रम विर्षेर प्राथमिकता तर्फ ध्यान दिन आग्रह गर्दछु । कोरोना महामारीबाट आउने अवशर र चुनौतीको सामना गर्ने कुराका लागि अगाडी बढ्न आग्रह गर्दछु’ उनले भने ।

रिजालले सीमा अतिक्रमणको विषयमा सरकारले भरोसा गर्न सकिने कुरा नभनेको बताए ।

अन्तिम समयमा आएर अलिकति बोलेपनि सरकारले गम्भीरता नदेखाएको आरोप उनको छ ।
सरकारले काम गरेर प्रमाणि गरे आफुहरुको साथ सधै रहने उनले बताए ।

कांग्रेसका अर्का नेता शशांक कोइरालाले कोरोना महामारीको अवस्थालाई ध्यान दिनुपर्ने भएपनि ध्यान अरुतिरै गएको बताए ।

सरकारले कोरोना महामारी नियन्त्रणलाई जति ध्यान दिनुपर्ने हो त्यतातिर ध्यान नगएको उनको भनाइ छ । ‘सरकारले प्राथमिकता नदिएको होइन तर जति महत्वका साथ दिनुपर्ने थियो त्यती दिएको छैन्’ उनले भने ।

अर्का नेता प्रदीप गिरीले विश्व नै कोरोना संकटसँग जुधिरहेका बेला सरकारले पुरानै कुराहरुलाई दोहो¥याएको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले आर्थिक चुनौतीको सामना गर्नुपर्ने बेला ठोस नीति तथा कार्यक्रम नआएको बताए ।

भ्रष्टाचार निर्मुल गर्ने र नियन्त्रण गर्ने सरकारको प्रगतिवद्धता कमजोर देखिएको उनले आरोप लगाए ।

Loading...