काठमाण्डौ, २ जेठ । सरकारले कोरोना भाइरस संक्रमण रोकथामकालागि दुई महिनादेखी हुदै आएको लकडाउनको स्वरुप परिवर्तन गर्ने भएको छ ।
सरकारको कोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिको २जेठमा बसको बैठकले ६ जेठदेखी लक डाउनको स्वरुप परिवर्तन गर्ने तयारी गरेको हो ।
समितिले लकडाउनलाई पुरानै तरिकाले निरन्तरता दिने कि नयाँ स्वरुप परिवर्तन गर्ने भन्नेबार स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग छलफल गरेको थियो ।
सुझाव अनुसार समितिले जोखिम क्षेत्र छुट्याएर लक डाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले बताए ।
उनका अनुसार ६ जेठदेखी उच्च जोखिम, मध्य र न्यून जोखिम क्षेत्रका आधारमा बर्गीकरण गरेर लकडाउनको स्वरुप निर्धारण गरिने छ ।
जापान र हङकङका नागरिकलाई चार्टड फ्लाइट मार्फत पठाइने
समितिले अध्ययन वा अन्य कामको शिलशिलामा जापान र हङकङमा बस्दै आएका तर लक डाउनका कारण नेपालमै रहेका नागरिकहरुलाई चार्टड फ्लाइट मार्फत पठाउने निर्णय गरेको छ ।
सचिव विडारीका अनुसार डाउनका कारण जापान जानबाट रोकिएका ६ सय र हङकङको आइडी प्राप्त नागरिकलाई स्वास्थ्य परीक्षण, अध्यागमन प्रकृया पुरा गरी पठाइने छ ।
परीक्षण र कन्ट्रयाक्ट ट्रेसिङको दायरा बढाउन बिज्ञहरुको सुझाव
सरकारको समितिलाई स्वास्थ्य विज्ञहरुले परीक्षण, कन्ट्रयाक्ट ट्रेसिङको दायरा बढाउनुपर्ने, क्वारेन्टाइनको व्यवस्थापन राम्रोसँग गर्नुपर्ने सुझाव दिएका छन् ।
शुक्रबारको छलफलमा उनिहरुले आत्तिनुपर्ने अवस्था नभएपनि सचेत हुनुपर्ने, विदेशबाट आउनेहरुको सवालमा सम्बन्धित स्थानीय तहहरुमा क्वारेन्टाइनको उचित व्यवस्थान गरी ल्याउनुपर्ने सुझाव दिएका थिए ।