डब्लुटीओका अध्यक्ष अजिभिडोले दिए राजीनामा

जेनेभा, २ जेठ । विश्व व्यापार संगठन (डब्लुटिओ)का महानिर्देशक रोबर्टो अजिभिडोले बिहीबार राजीनामाको घोषणा गरेका छन् ।

आफ्नो कार्यकाल एक वर्ष बाँकी छँदै उनले पदबाट राजीनामा दिएका हुन् ।

अमेरिका–चीनबीच व्यापार तनाब जारी नै रहेको तथा कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा व्यापक असर पारेकै अवस्थामा डब्लुटिओका प्रमुखले “व्यक्तिगत” कारण देखाउँदै राजीनामा दिएका हुन् ।

उनले आफ्नो पदबाट आगामी अगष्ट ३१ लागू हुने गरी राजीनामा गरेका हुन्। उनी विगत सात वर्षदेखि डब्लुटिओको प्रमुखको रूपमा कार्यरत थिए ।

स्वीट्जरल्याण्डको जेनेभामा मुख्यालय रहेको डब्लुटिओ र यसको नेतृत्वको कार्यशैलीप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तिखो आलोचना गर्दै आएका थिए ।

उनले चीनसँगको व्यापार युद्धका क्रममा डब्लुटिओले चीनको पक्षमा बढी काम गरेको र अमेरिकी सरोकारका विषयमा विल्कुलै चासो नदिएको आरोप लगाएका छन् ।

डब्लुटिओको मुख्यालयमा संगठनका प्रतिनिधिहरूसँगको विशेष बैठकमा महानिर्देशक अजिभिडोले आफूले यस राजीनामालाई सामान्य रूपमा नलिएको बताउँदै आफ्नो राजीनामा पारिवारिक निर्णय र व्यक्तिगत निर्णय रहेको स्पष्ट गरे ।

आफ्नो राजीनामाले संगठनको सर्वोत्तम हितलाई पक्षपोषण गर्ने पनि उनले विश्वास व्यक्त गरे ।

Loading...