महोत्तरीको दशगजा क्षेत्रमा घेराबेरा लगाइँदै

महोत्तरी, २ जेठ । लुकीछिपी सीमा नाघेर आवतजावत नरोकिएपछि महोत्तरी जिल्लाको भारतीय सीमावर्ती क्षेत्रमा घेराबेरा लगाउन थालिएको छ ।

जिल्लाको भारतसँग सीमा जोडिएको ३८.६ (३८ दशमलव ६) किलोमिटर दूरीभित्रबाट हुने आवागमन नियन्त्रण गर्न घेराबेरा लगाइन थालिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको हो ।

सीमा क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरेर आवागमन रोक्न प्रयत्न हुँदै आए पनि दुवैतर्फ एकअर्कासँग जोडिएका बस्तीबीचबाट छिर्ने क्रम नरोकिएपछि बाँसका फट्टा र अन्य काठ ठड्याइएर घेराबेरा लगाइन थालिएको छ ।

जिल्लाका मटिहानी, जलेश्वर र मनराशिशवा नगरपालिका एवं एकडारा, सम्सी र सोनमासहित छ स्थानीय तहको सीमा भारतसँग जोडिएको छ । भारततर्फ सीमा क्षेत्रसँग मधुवनी र सीतामढी जिल्ला जोडिएका छन् ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री भने, “मधुवनी र सीतामढीमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको समाचार छन्, भारतले रेलसेवा सञ्चालन गरेसँगै यता लुकिछिपी भित्रिनेको सङ्ख्या बढ्दै गएको जानकारी पाइएपछि घेराबेरा शुरु गरिएको हो । यो अस्थायी घेराबेराले पनि आवागमन नियन्त्रण गर्न सघाउने विश्वास छ ।”

सीमा क्षेत्रमा घेराबेरा थालिएसँगै सुरक्षा गस्ती पनि बढाइएको जिल्ला प्रशासनले जनाएको छ ।

पछिल्लोपटक महोत्तरी र धनुषामा पाइएका सङ्क्रमितमध्ये केही भारतको मधुवनी र सीतामढीबाटै यता छिरेका पाइएको छ ।

जिल्लाको भारतसँगको सीमा क्षेत्रमा कतिपय ठाउँमा जोडिएका बस्ती, दोहोरो सामाजिक–सांस्कृतिक सम्बन्ध र कतिपय सीमा क्षेत्रका दुवैतर्फ रहेका सघन बगैँचाबाट लुकीछिपी आउने जानेलाई सजिलो बनेको देखिँदैछ ।

सीमाबाट भित्रिनेबारे हाम्रातिरका बस्तीमा सचेतना अपनाइएर क्वारेन्टाइन केन्द्रमा पुर्‍याउन सजिलो हुने भए पनि यसबारे त्यति चनाखोपन र सजगता नअपनाइँदा समस्या कायम नै रहेको राजनीतिक दल र सामाजिक क्षेत्रका कार्यकर्ता स्वीकार गर्छन् ।

स्थानीय तहका बस्तीबस्तीमा बाहिरबाट आउनेहरुबारे जानकारी लिने र यसमा कडाइ गरिए स्थिति सम्हाल्न सजिलो हुने सीमा क्षेत्रकै बासिन्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला सचिव सौखीलाल यादवले बताए ।

Loading...