birat ribon

कोरोनाले फुर्सदिला पुरोहित र पण्डितहरू

Neuro
कोरोनाले फुर्सदिला पुरोहित र पण्डितहरू

विराटनगर (भृकुटीचौक), १ जेठ । विराटनगर-१० हाम्रो चौकका पण्डित गणेश भट्टराई हाल विराटनगर महानगरभित्रै मात्र अत्यन्त आवश्यक पर्ने न्वारन तथा श्राद्धजस्ता कर्मकान्ड मात्र गरिदिँदैछन् । लकडाउनमा सुरक्षित बस्नुपर्ने भएकोले उनी हत्तपत्त कतै जाँदैनन् ।

मोरङ सुन्दहरैचा-२ का युवराज ढुंङगानालाई पूजाआजा मृत्यु संस्कार कार्जे गराउन भ्याईनभ्याई हुन्थ्यो । तर आजकल गाउँ समाजमा हुने सबै सामाजिक र धार्मिक कार्जे ठप्प छन् । बेलाबेला मृत्यु संस्कारकारको कर्म मात्र उनले गरिरहेका छन् ।

cura insider

झापा मेचीनगर-१० का धर्मनाथ पौडेल पुराण बाचक हुन् । लकडाउनपछि उनी पनि फुर्सदिला छन् । कोरोनाले गर्दा कुनै पनि उत्सव आयोजना गर्न प्रतिबन्ध भएकोले उनीजस्ता थुप्रै कथा बाचकहरू बेरोजगार भएका छन् । कोरोना अन्त्य भएपनि उत्सवहरू नहुने भएकोले आम्दानी घट्ने उनीहरूको अनुमान छ ।

सुनसरीकाे बराहक्षेत्र नगरपालिका- १ का पण्डित उमराज खतिवडा पनि लकडाउनका कारण फुर्सदिला बनेका छन् । कोरोना महामारीका कारण सरकारले जारी गरेको लकडाउनका कारण कर्मकाण्ड खासै नहुने भएकाले उनी फुर्सदिला बनेका हुन् ।

माथि प्रस्तुत भएका केही उदाहरणअनुसार विवाह, व्रतबन्ध, श्राद्ध गर्ने र धार्मिक उत्सव आयोजना गराउने सयौँ पुरोहित र पण्डितहरूको पेशा पनि लकडाउनको प्रभावमा परेको छ ।

लकडाउने गर्दा समाजमा पूजाआजा मात्र नभएर बिहे, ब्रतबन्ध, पुराण जस्ता उत्सवहरू हुन छाडेका छन् । मरिमराउमा हुने कर्मकाण्ड पनि असी प्रतिशत घटेको छ ।

यसैले लकडाउने पुरोहितहरूको कर्मकाण्ड पेशा पनि पूर्ण रूपमा प्रभावित भएको पण्डित पुष्प पराजुली बताउँछन् । पण्डित पराजुलीका अनुसार लकडाउने गर्दा समाजमा कर्मकाण्ड गरी जीविका चलाइरहेका पुरोहितहरूको पेशा प्रभावित हुँदा आश्रित परिवारको दैनिक जीवनयापनमा पनि कठिनाई आएको छ ।

यस्तै व्यवसायिक रूपमा कथा वाचन गर्ने, ठुला पण्डित र पुरोहितको आम्दानी पनि ठप्प भएको छ । समान्य अवस्थामा सधै भ्याइनभ्याइ हुने पण्डित पुरोहितहरू लकडाउनले गर्दा आजकल सबै घरमै भेटिने गरेका छन् ।

लकडाउनपछि पनि मानिसहरू भीडभाडदेखि सतर्क रहने र आम्दानी पनि कम हुने भएकोले सामाजिक कर्म र धार्मिक उत्सवहरूमा पनि कमी आउने पक्का छ । यसैले पुरोहित र पण्डितहरूको पेशा आगामी दिनमा पनि प्रभावित भइरहने पण्डितहरू बताउँछन् ।

jackson ribon