पाकिस्तानद्वारा राष्ट्रिय क्रिकेट खेलाडीको सूचि सार्वजनिक

एजेन्सी, १ जेठ । पाकिस्तानले वर्ष २०२०/२१ को लागि आफ्नो राष्ट्रिय क्रिकेट खेलाडीहरूको नयाँ सूची सार्वजनिक गरेको छ । १८ सदस्यीय राष्ट्रिय खेलाडीहरूको सूचिमा दुई नयाँ अनुहार देखिएका छन् ।

तीव्र गतिका बलर नसिम शाह र दायाँ–हाते ब्यास्ट्सम्यान इफ्तिखार अहमद जुलाई १ देखि लागू हुने सूचिका नयाँ सदस्यहरू हुन् । ‘ए’, ‘बी’, ‘सी’ र उदयीमान खेलाडी श्रेणीको आधारमा खेलाडीहरूलाई चार समूृहमा वर्गीकरण गरीएको छ ।

तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी श्रेणी ‘ए’मा उक्लिएका छन् । उनीसँगै बाबर आजम र अजहर अली पनि श्रेणी ‘ए’मा नै छन् । पाकिस्तान क्रिकेट बोर्डले जारी गरेको सूचिमा यी तीन खेलाडी मात्र ‘ए’ श्रेणीमा राखिएका छन् ।

नौ जना खेलाडी समावेश गरीएको ‘बी’ श्रेणीमा बढुवा हुँदै तीन खेलाडीले स्थान बनाउन सफल भएका छन् । बढुवा हुने खेलाडीहरूमा अबिद अली, मोहम्मद रिजवान र शान मसूद हुन् ।

‘सी’ श्रेणीमा ६ र उदयीमान खेलाडीको श्रेणीमा तीन खेलाडीसहित यो वर्षको लागि १८ सदस्यीय टोली तयार गरिएको हो ।

पाकिस्तान पुरुष राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक मिस्बाह–उल–हक क्रिकेट बोर्डले केन्द्रीय सम्झौतासहित छनौट गरेको नयाँ राष्ट्रिय टोलीका सदस्यहरूको छनौट उनीहरूको योग्यताको आधारमा गरिएको बताउँछन् ।

खेलाडी छनौट टोलीका प्रमुखसमेत रहेका मिस्बाह भन्छन्, ‘खेलाडी छनौटको दर्शन र मापदण्ड सरल, सीधा र प्रस्ट रहेको थियो ।’

Loading...