विराटनगरले दिएको १२ किलो चामल सकियो, राहत बाँड्ने कहिले ?

मोहन ढकाल
विराटनगर, १ जेठ । विराटनगर महानगरपालिका ६ सरोचिया कि सुमित्रादेवी देव ८५ वर्ष पुगिन् । श्रीमानको मृत्यु भएको पनि धेरै भैसक्यो ।

एक दशकयता उनी एक्लै बस्छिन् । ४० वर्षभन्दा बढी समय भयो कवाडीको काम गर्न थालेको । १५ रुपैयाँ दैनिक ज्यालामा काम सुरु गरेकी सुमित्राले पछिल्लो समय दैनिक मजदुरी गर्दा २ सयसम्म कमाउँथिन् ।

आम्दानीले जसोतसो दैनिकी चलेकै थियो । तर, कोरोना महामारीका कारण उनको आम्दानी गुम्यो । दुई महिनायता कामविहीन बनेकी उनलाई हातमुख जोड्नै समस्या छ ।

‘लकडाउन सुरु भएपछि काम भएको छैन,’ उनले भनिन्, ‘वडाले दिएको थोरै राहत केही दिन त सहज नै भयो, तर अब कसरी छाक टार्ने ?’

कहिलेकाहिँ एक छाक खाएर भोकै बस्नुपर्ने अवस्था रहेको उनले सुनाइन् । पहिलो चरणमा महानगरले वितरण गरेको १२ किलो चामल सकिएपछि उनी राहत माग्न वडा कार्यालय पटकपटक पुगिन् । तर राहत पाइनन् ।

‘आज पनि वडा कार्यालय पुगेँ तर रित्तै फर्किएँ ।’ उनले भनिन्, ‘अस्ती दिएको राहत सकियो ।’ काम सुरु भए उनी राहतको आश नगर्ने बताउँछिन् ।

सरोचियाकै अरुण शाहको दैनिकी पनि उस्तै छ । उमेरले ४५ वर्ष पुगेका उनी अपाङ्ग पनि छन् । उनका दुवै खुट्टा चल्दैनन् । पहिले होटलमा भाडा माँझेर दैनिक गुजारा गर्दै आएका उनी दुई वर्षयता ह्वीलचियरमा जोगबनीबाट किरानाका सामान ल्याएर विराटनगरका विभिन्न पसलमा बेच्दै आएका छन् ।

दिनमा एक पटक जोगबनीबाट सामान ल्याउने उनले दैनिक २/३ सय कमाइ हुन्थ्यो । तर लकडाउनका कारण दुई महिनायता उनको काम बन्द भएको छ । सामान क्यारिङ गरेर उनले पाचँ जनाको परिवार पालेका थिए । तर काम नभएका कारण दुई छाक खानै मुस्किल छ ।

दैनिक गुजारासँग छोराछोरीको स्कुलको फि कसरी तिर्ने भन्ने चिन्ता पनि थपिएको छ । उनलाई वडा कार्यालयले राहत दिएको थियो । तर स्थानीय सरकारले दिएको १२ किलो राहत सकियो । राहत पाइन्छ कि भन्ने आशमा उनी पर्खिरहेका छन् ।

टेलर्समा दैनिक ज्यालामा काम गरेर दैनिक जिविका चलाउँदै आएका मोहम्मद राजुको पनि समस्या उस्तै छ । ३० वर्ष पुगेका उनी १२ वर्षयता टेलर्समा काम गर्दै आएका छन् । दैनिक ३/४ सय कमाउँदै आएका उनको आम्दानी लकडाउनका कारण बन्द भएको छ ।

वडाले दिएको राहत पनि सकियो । तर दोस्रो चरणको राहत कहिले आउँछ भन्ने पर्खाइमा छन् । राहत नपाएका करण ६ जनाको परिवार चलाउन हम्मेहम्मे परेको उनले बताए ।

आफू एक्लैले काम गरेर परिवार चलाउँदै आएका उनले आफन्तसँग सापटी लिएर केही दिन त सहज बनाए । तर अब सापटी पाउने ठाउँ पनि छैन । ‘अब कस्ले सापटी दिन्छ र ?, उनले भने, ‘चुनाव जितेर गएका नेताहरूले समस्यामा आएनन् ।’

दैनिक ज्यालामजदूरी गरेर जिविका चलाइरहेका प्रतिनिधि हुन् । विराटनगरभित्र ज्यालामजदूरी गरेर गुजारा चलाउनेहरूको काम नभएका कारण हात मुख जोड्न नपाउने अवस्थामा पुगेका छन् । उनीहरू राहत पाइने झिनो आशमा छन् ।

राहतको नाममा करोडौँ रकम खर्च भएको छ । तर, यति धेरै रकम सकिदाँसम्म ७/८ जनाको परिवारलाई एक महिना पुग्नेसम्म राहत वितरण गरिएको छैन ।

राहत वितरण नगर्ने पक्षमा स्थानीय सरकार

यता विराटनगर महानगरपालिकाले दोस्रो चरणको राहत वितरण नगर्ने बताएको छ । सरकारले उद्योग सञ्चालनका लागि अनुमति दिने निर्णय भएका कारण तत्काल राहत वितरण नगरिने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली बताउँछन् ।

‘जिल्ला स्तरीय समितिको बैठकमा उद्योगहरू सञ्चालन गर्न दिने निर्णय भएको छ । उद्योग खुल्दा श्रमिक काममा जान पाउँछन्,’ उनले भने, ‘काममा सहज भए राहत वितरण गर्ने अवस्था आउँदैन ।’

महानगरले पहिलो चरणमा २७ हजार परिवारलाई राहत वितरण गरेको थियो ।

Loading...