चितवनका चेपाङलाई नगरपालिकाले राहतमा ठगेको खुलासा

चितवन, १ जेठ । चितवनको कालिका नगरपालिका-९ शेरवासका चेपाङलाई पनि कालिका नगरपालिकाले राहत दिँदा ठगेको पाइएको छ ।

सरकारले पाँच जनासम्मको परिवारलाई १० किलो र सोभन्दा माथिको परिवारलाई २० किलो चामल र दुई किलो नुन, दुई किलो दाल लगायतका सामान दिने बताएको थियो ।

तर पनि कालिका नगरपालिकाबाट वितरण भएको राहत आफूले १० किलो मात्र पाएको स्थानीय रामचन्द्र चेपाङले बताए ।

रामचन्द्रले भने, “खै कति दियो थाहा भएन, १० किलो चामल, आधा पाकेट नुन र १ किलो दाल पाएको हुँ ।”

कोरोना भाइरसको महामारीपछि लकडाउनको समयमा कोही जनप्रतिनिधिहरू पनि गाउँमा आइनपुगेको र सो राहत पनि आफ्नो ज्वाइँ पूर्णबहादुर चेपाङले ल्याइदिएको रामचन्द्र चेपाङले बताए ।

“राहत बाँडेको पनि थाहै पाइएन । सात जनाको परिवार छौँ, आफ्नो खेतीले ३/४ महिनामात्र खान पुग्दछ, सधैँ हामी ज्याला मजदुरी गरेर खाने गर्दथ्यौँ । अहिले ज्याला मजदुरी पनि गर्ने ठाउँ छैन,” उनले भने ।

“ज्वाइमार्फत् पाएको चामल त अस्ति नै सकिइसक्यो, कसरी परिवार पाल्ने हो ? गाउँका धेरै जसोले मैले जतिनै राहत पाएका हुन, सबैको समस्या उस्तै छ,” उनले भने ।

कालिका वडा नं. ९ को शेरवासमा १८ घरधुरी रहेको र त्यहाँका सबै विपन्नलाई राहत वितरण गरिसकेको वडा अध्यक्ष हेमबहादुर क्षेत्रीले दावी गरे ।

राहत वितरणको सन्दर्भमा जानकारी लिन कालिकाका नगरप्रमुख खुमनारायण श्रेष्ठलाई पटक पटक टेलिफोन गर्दा उनको फोन उठेन ।

यस अगाडि पनि कालिका नगरपालिकाले वडा नं. १० र ११ को सिद्धि क्षेत्रका चेपाङ बस्तीमा पनि राहत वितरणमा ठग गर्दै स्थानीयलाई सरकारले तोकेभन्दा आधा मात्र राहत वितरण गरेको पाइएको थियो ।

Loading...