चितवनमा आमा–छोराले नै जिते कोरोना

चितवन, ३१ वैशाख । चितवनका कोरोना भाइरस संक्रमित आमा–छोरा दुवै निको भएका छन् ।

२७ वर्षीय छोरो यसअघि नै निको भएर अस्पतालबाट डिस्चार्ज भएका थिए भने ६३ वर्षीया आमा उपचाररत थिइन् ।

लगातार रिपोर्ट पोजिटिभ आएपछि उनी भरतपुर अस्पतालको आइसोलेसन कक्षमा उपचाररत थिइन् । तर, बुधबार रिपोर्ट पोजिटिभ आएसँगै उनलाई डिस्चार्ज गरिएको छ ।

भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले संक्रमित महिलाको छैटौं र सातौं परीक्षणमा लगातार नेगेटिभ नतिजा आएको आधारमा उनलाई निको भएको ठहर गर्दै अस्पतालले विदा गरेको जानकारी दिए ।

यसअघि १३ वैशाखमा उनका छोरा निको भइ अस्पतालबाट डिष्चार्ज भएका थिए ।

३ वैशाखमा गरिएको आरडीटी परीक्षणका क्रममा शंकास्पद देखिएपछि ४ गते भरतपुर कोभिड–१९ प्रयोगशालामा परीक्षणका क्रममा दुवै जनामा कोरोना पोजिटिभ देखिएको थियो ।

त्यसपश्चात् वैशाख ५ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुनः परीक्षण गर्दा पनि कोरोना पोजिटिभ देखिएको थियो । उनीहरू ३ चैतमा बेलायतबाट हङकङ हुँदै चैत ५ गते चितवन आएका थिए ।

Loading...