भक्तपुरमा दुई जनामा कोरोना देखिएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’ सुरु

भक्तपुर, ३१ वैशाख । भक्तपुरमा मंगलबार दुई जनामा कोरोना भाइरस संक्रमण देखिएपछि दुवै संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङको कार्य सुरु भएको छ ।

भक्तपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट सुमित्रा गौतमका अनुसार दुवै संक्रमितको बस्ने ठाउँ र सम्पर्कमा आएका व्यक्तिको खोजी गरी कन्ट्याक्ट ट्रेसिङको कार्य सुरु गरिएको हो ।

सङ्क्रमित भेटिएका दुवै घरका मानिस र आसपासका समेतलाई निगरानीमा राखिएको छ ।

दुवै संक्रमितलाई उपचारको दायरामा ल्याएर अस्पताल भर्ना गरिएको छ । महिलालाई भक्तपुर अस्पतालको आईसोलेसनमा र पुरुषलाई टेकु अस्पताल भर्ना गरिएको छ ।

सङ्क्रमित मध्ये २५ वर्षीया महिला २९ वैशाखमा सुनसरीबाट मोटरसाइकलमा आएको खुलेको छ ।

उनी आरोग्य फाउण्डेसन जाउलाखेलमा कार्यरत रहेको खुलेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् ।

सङ्क्रमित महिला सुनसरीबाट आएर मध्यपुर थिमि नगरपालिकाको नयाँ ठिमीमा रहेको साथीको डेरामा बसेकोले साथीलाई समेत निगरानीमा राखेर स्वाब परीक्षण गरिँदैछ ।

डेरावाल साथी मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यरत स्टाफ नर्स रहे पनि संक्रमित साथीसँग सम्पर्कमा रहेपछि उनी काम गर्न नगएको खुलेको छ ।

कोरोना सङ्क्रमण देखिएका अर्का २७ वर्षीय पुरुष सशस्त्र प्रहरी रहेको खुलेको छ ।

प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार उनी चाँगुनारायण नगरपालिका–१ सरस्वतीखेलस्थित सशस्त्र प्रहरीको नीलबाराही गणमा कार्यरत रहेको बुझिएको छ ।

रामेछाप स्थायी घर भएका उनी पुर्व गृहमन्त्री भीम रावलको सुरक्षा गार्ड रहेका तर श्रीमती बिरामी भएका कारण एक महिना यता बिदामा चाँगुनारायण नगरपालिका–१ दुवाकोटमा रहेको घरमा बस्ने गर्दै आएको बुझिएको छ ।

प्रशासन तथा प्रहरीले उनको विवरण सार्वजनिक गरेका छैनन् । तर उनमा कसरी संक्रमण भयो भन्ने प्रस्ट नभएको महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख उपरीक्षक सविन प्रधानले बताए ।

Loading...