जंगलमा अलपत्र परेकाहरू घर पुगेपछिको खुशी

कोशी अनलाइनको समन्वयमा घर पुगे अलपत्र मजदुरहरू

रामप्रसाद पौडेल

रात निस्पट्टै हुनेगरी छिप्पिइसकेको थियो । दिनभरिको परोपकारी कर्ममा खटेर लखतरान भएको कोशी अनलाइनको टोली समयमै घर पुग्ने ध्याउन्नमा अलिक रफ्तारमा हुइँकिइरहेको थियो । घर पुगेर पनि अझै केही सहायताको कामहरू गर्न त बाँकी नै थियो । टोलीका सदस्यमध्ये कसैले अस्पतालमा विरामीलाई खाना पुर्‍याउनुपर्ने थियो भने कसैको जरूरी अनलाइन मिटिङहरू तय भएका थिए । त्यसैले सबैको चाहना गाडीमा ब्रेक लगाउन नपरे हुन्थ्यो भन्ने थियो । तर चतराको जंगल छिचोलेर नोडा चोक पुग्न केही मिनेट मात्रै बाँकी रहँदा सडक किनारमा एउटा यस्तो दृश्य देखियो कि गाडीको ब्रेक आफसेआफ लाग्न पुग्यो ।

सडकको किनारमा सुस्ताएर बसेका युवाहरूको ठूलै झुण्ड देखेर सुरूमा त मनमा अलिकति भय पनि उत्पन्न नभएको होइन, कतै यिनीहरूले लुट्ने त होइनन् ! तर हामीले साहस बटुल्यौं र हाम्रो टोलीका चारैजना सदस्यहरू एकैपटक उत्रिएर उनीहरू भएतिर बढ्यौं । नजिकै पुगेर सोध्दा थाहा भयो उनीहरू कसैलाई लुट्न त्यहाँ बसेका होइन रहेछन् बरू उनीहरूको उल्टै स्वाभिमान र मानवता लुटिएको रहेछ । समय र सत्तासँग लडाईं हारेर फर्किएका जुझारू युवाहरूको समूह रहेछ त्यो ।

देशमा कित्ता कित्ताका मानिसहरू छन् । एउटा कित्ताका मान्छेहरू यो देश खत्तम छ, यहाँका नेताहरू खत्तम छन् । नेपाली भएर जन्मनु दुर्भाग्य हो भनेर सत्तोसराप गर्न कहिल्यै थाक्दैनन् र जतिखेरै विदेश हानिने ताकमा हुन्छन्, त्यो पनि अब्बल कित्ताका देशहरू छानी–छानी । अर्को कित्ताका मानिसहरू खाडी मुलुक पुगेर भए पनि पैसा कमाउने ध्याउन्नमा हुन्छन् । रहर वा बाध्यता उनीहरू नेपालमा केही गर्नुपर्छ वा केही गर्न सकिन्छ भन्ने कुरामा विश्वास गर्दैनन् । तर एउटा यस्तो वर्ग पनि जिवित् छ यो देशमा जसले आफ्नो पसिना यही देशलाई सिञ्चित गर्नका लागि बगाइरहेका छन् । हो रात छिप्पिँदै गरेको अवस्थामा सडक किनारमा असरल्ल सुस्ताइरहेका जिवातहरू त्यही वर्गका थिए, जो आफ्नो परिश्रमले पेट पाल्न मात्र नभइ आफ्नो पसिनाले देश सिंगार्न पश्चिम नेपालको एउटा सामान्य वस्तीबाट सुदूर पूर्वको पहाड चढेका थिए ।

कुराकानी गर्दै जाँदा थाहा भयो । उनीहरू संखुवासभा जिल्लाको पाँचखपन नगरपालिकामा निर्माण भइरहेको अप्पर हेवा खोला जलबिद्युत आयोजनामा काम गर्न गएका निर्माण मजदुरहरू थिए । लकडाउनअघि नै उनीहरूलाई ठेकेदारले तलब दिएको रहेछ । त्यसपछि उनीहरू कामबिहीन भएका रहेछन् । कामबिहीन भएपछि पटकपटक घर फर्कने प्रयत्न गर्दा उनीहरूले कतैबाट सहायता पाएनछन् । डेढ महिनासम्म प्रयत्न गर्दा पनि पास उपलब्ध नभएपछि निराश भएका उनीहरू आफूसँग भएको रूपैयाँ पैसा पनि सकिएपछि “मरता क्या नहीँ करता”को अवस्थामा पुगेको बताउँछन् । बाँचे घरै पुगौंला नबाँचे बाटैमा मरौंला भन्ने अठोट लिएर पाइला चालेका २२ जना जवानहरू ४ दिनको लगातार पैदल यात्रापछि चतरा छिचोल्न सफल भएका रहेछन् । हामीले सरोकार देखाएर कुरा सुरू गरेपछि बारबर्दिया नगरपालिका १ जोधिपुरका गणेश थारूले भने “हामीले चार दिनदेखि तातो खान पाएका छैनौं, पानी र चिउराको भरमा यहाँ आइपुगेका छौं ।”

अरू ५/७ मिनेट हिँड्न अनुरोध गरेपछि उनीहरूको टोली नोडा चोकमा पुग्न सफल भयो । कोशी अनलाइनको टोली अब उनीहरूको व्यवस्थापनका लागि के गर्न सकिन्छ भन्ने बारेमा जुट्न थाल्यो । टेवरनेकल मिनिष्ट्रिका साथीहरूले चाउचाउ र चिसो पानी खुवाएर उनीहरूमा त्राण भर्ने काम गरे ।रिपब्लिक हेराल्ड मिडिया (कोशी अनलाइन र मेरो देश डटकम) का अध्यक्ष प्रभात खड्काले स्थानीय निकायहरूसँग समन्वय गर्न थाल्नुभयो । प्रहरी, जिल्ला प्रशासन र स्थानीय निकायसँग निरन्तर सम्पर्क गरेपछि बराहक्षेत्र नगरपालिका वडा नं. ४ का वडाध्यक्ष रूद्र दाहाल हामीकहाँ आइपुग्नुभयो । उहाँसमेत यो समूहलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरामा विभिन्न निकायसँग सम्पर्क समन्वय गर्न व्यस्त हुनुभयो । अन्ततः बारबर्दिया नगरपालिकाका मेयरले गाडीको प्रबन्ध गरी नोडा पठाउनुभयो, स्थानीय वडाध्यक्षको पहलमा खाना तयारी भयो, मोरङ, सुनसरी र बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले पास उपलब्ध गराइदिनुभयो । अनि सोमबार राति ११ बजेतिर सुनसरीबाट प्रस्थान गरेको २२ जना युवाहरूको टोली मंगलबार दिउँसो आफ्नो गाउँ पुग्न सफल भयो ।

गाउँ पुगेपछि फोन गर्दै गणेश थारूले कोशी अनलाइनलाई धन्यवाद दिए । भने-“हामी साँच्चै अन्यौलमा थियौं, मरिन्छ बाँचिन्छ निश्चित थिएन । चतराको जङ्गलमा तपाइँहरूलाई भेट्नु हाम्रो लागि भगवान भेट्नुजस्तै भयो । हाम्रा सबै साथीहरूले तपाइँहरूलाई धन्यवाद दिएका छन् । हाम्रो जीवनमा अब हामी तपाइँहरूलाई कहिल्यै भुल्न सक्दैनौं।” उनीहरू सुरक्षित घर पुग्दा जति खुशी थिए, पुगेको खबर सुन्न पाउँदा कोशी अनलाइनको टोली त्योभन्दा कम खुशी थिएन ।

Loading...