कोरोना विशेष एप्स सार्वजनिक गर्ने तयारीमा डब्ल्यूएचओ

एजेन्सी, ३० वैशाख । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) यीि महिनाको अन्त्यसम्ममा कोरोना भाइरससम्बन्धी विशेष एप्स सार्वजनिक गर्ने तयारीमा रहेको छ । कम स्रोत भएका र अविकसित राष्ट्रका नागरिकहरूमा कोभिड–१९ संक्रमण परीक्षण गर्न विशेष तरीकाले एप्स निर्माण भइरहेको डब्ल्यूएचओले जनाएको छ । एप्समा ब्लुटुथ–आधिरित सम्पर्क ट्रेसिङ सुविधा पनि थप्ने प्रयास भइरहेको एप्स निर्माणमा संलग्न एक अधिकारीले रोयटर्सलाई बताएका छन् ।

एप्सले मानिसहरूलाई उनीहरूमा देखिएका लक्षणको बारेमा सोध्नेछ र स्वास्थ्यबारे रिपोर्ट दिनेछ । मानिसहरूले एप्समा दिएको सूचनाको आधारमा उनीहरूमा कोरोना संक्रमण भए नभएको पुष्टि गरेर एप्सले रिपोर्ट दिने डब्ल्यूएचओका प्रमुख सूचना अधिकारी बर्नार्डाे मारियानोले बताए । स्वास्थ्य रिपोर्टबाहेक संक्रमण परीक्षण कसरी गर्ने भन्नेबारे पनि राष्ट्रअनुसार विशेषखाले सूचना एप्सले दिने बर्नार्डाे बताउँछन् ।

एप्सबारे बताउँदै बर्नार्डाे भन्छन्, ‘विश्वभरका एप्स स्टोरहरूमा कोरोना विशेष एप्स लन्च गरिने भएपनि आफ्नो नागरिकलाई सहज हुने तरिकाले जुनसुकै राष्ट्रले पनि एप्सको सुविधाहरू थप, घट र परिवर्तन गर्न सक्ने छन् ।’

डब्ल्यूएचओले एप्स सार्वजनिक गर्नु अगावै भारत, अष्ट्रेलिया र बेलायतले आ–आफ्नो प्रविधिको प्रयोग गर्दै आफ्नो राष्ट्रका लागि आधिकारिक भाइरस एप्स लन्च गरिसकेको छ । लन्च गरीएका एप्सले मानिसहरूमा देखिएका लक्षणको आधारमा परीक्षण गर्नुपर्ने वा नपर्ने जानकारी दिने गर्छ । यसका साथै एप्सले प्रभावकारी रूपमा मानिसहरूको ‘मुभमेन्ट ट्रेसिङ’ समेत गर्ने गरेको छ ।

आफूले निर्माण गरेको एप्स तीव्र रूपमा कोरोना संक्रमण फैलिरहेको दक्षिण अमेरिका र अफ्रिकाका राष्ट्रहरूमा प्रयोग हुने डब्ल्यूएचओको विशेष अपेक्षा छ । ती राष्ट्रहरूसँग प्रविधि र ईन्जिनियरको अभाव हुन सक्ने, एप्स निर्माण गर्न सम्भव नहुने र कोरोना परीक्षण र स्वास्थ्यसम्बन्धी शिक्षा अभाव हुने भएकाले लन्च हुने तयारीमा रहेको एप्सले प्रभावकारी भूमिका निर्वाह गर्नेमा डब्ल्यूएचओ विश्वस्त रहेको बर्नार्डोले रोयटर्ससँग खुलाएका छन् ।

गुगल र माईक्रोसफ्टमा काम गरिसकेका अनुभवी ईन्जिनियर र डिजाइनरहरूले हप्तौंदेखि नयाँ एप्स निर्माणका लागि निरन्तर काम गरिरहेका छन् । नयाँ बनिने एप्स ओपन–सोर्स डिजाईनमा आधारित हुनेछ जसले ‘गीटहब’ होस्टिङ सेवाको प्रयोग गर्नेछ यसको मतलब कोड सार्वजनिक इन्पुटका लागि खुल्ला हुनेछ ।

डब्ल्यूएचओका प्रमुख सूचना अधिकारी बर्नार्डाेका अनुसार एप्समा कोरोना परीक्षण, मानिसहरूको मुभमेन्ट ट्रेसिंग मात्र नभई संक्रमणको भयावह स्थितिमा मानिसहरूमा उत्पन्न हुने सक्ने मानिसक स्वास्थ्यका समस्याका लागि सहजीकरण गर्ने सेवा समेत उपलब्ध गराईनेछ ।

डब्ल्यूएचओका ईन्जिनियरहरुले एप्स लन्चका लागि गर्नुपर्ने प्रारम्भिक काम पूरा गरिसकेका छन् । यसै महिना गुगल र एप्पलका लागि संयुक्त रुपमा रिलिज गर्ने एप्समा ट्रेसिंग सजिलो बनाउन प्रयोग गरिने टेक्नोलोजीबारे स्मार्टफोन अपरेटिंग सिस्टम निर्माता कम्पनी गुगल र एप्पलसँग डब्ल्यूएचओले छलफल गरिरहेको छ ।

यसका साथै आफ्नो प्रणालीमा अपलोड हुने कुनै पनि विवरण अन्य उद्देश्यका लागि प्रयोग नहुने दुवै कम्पनीले डब्ल्यूएचओलाई जनाई सकेको छ । महामारी अन्त्य हुनासाथ आफूसँग सुरक्षित रहने डाटा प्रयोग नगर्ने विषयमा विश्वस्त रहन कम्पनीले प्रयोगकर्ताहरुलाई आग्रह समेत गरेको छ ।

कोरोना विशेष एप्स सार्वजनिकको तयारीमा रहेको डब्ल्यूएचओले आगामी हप्ता नै विश्वभरीका स्वास्थ्यकर्मीहरुलाई लक्षित गर्दै विशेष एप्स सार्वजनिक गर्ने भएको छ । एप्समा सुरक्षा सामग्री कसरी सुरक्षित तरिकाले प्रयोग गर्ने, हात कसरी धुने र संक्रमित व्यक्तिहरुलाई कसरी उपचार गर्ने भत्रे विषयका लागि उत्तम अभ्यासहरु समावेश गरीएको छ ।

Loading...