कोरोनाविरुद्धको फ्रन्टलाइनर : ‘बालख छोरा घरमा, आमा संक्रमितको सेवामा’

विराटनगर, ३० वैशाख । विराटनगर १० की पुनम साहले नर्सिङ पेसा अंगालेको १८ वर्ष भयो । यो अवधिमा धेरै उतारचढावहरू आए । तर १८ वर्षको जागिर जीवनको सबैभन्दा चुतौतिपूर्ण क्षण चार दिनयता अनुभव गरिरहेकी छन् ।

चार दिनयता उनी विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा कोरोना संक्रमितको उपचारमा खटिएकी छन् । उनी खटिएको अस्पतालमा १९ जना कोरोना संक्रमितले उपचार गराइरहेका छन् ।

संक्रमितको उपचारका लागि स्वास्थ्यकर्मीको ८–८ घण्टाको ड्युटी मिलाइको छ । एउटा सिफ्टमा दुई स्टाफ नर्स, एक डाक्टर, एक सहयोगी र अन्य खटिएका हुन्छन् । चार दिनयता संक्रमितको उपचारमा साह खटिएकी छन् । उनका बालखहरू छोरा घरमा छन् । तर साना छोरालाई घरमै छाडेर उनी संक्रमितको उपचारमा खटिएकी हुन् ।

‘दुई छोरालाई घरमा छाडेर संक्रमितको सेवामा खटिएकी छु,’ उनले भनिन्, ‘घर जान पाउँदिन्, छोराले के खाए भन्ने चिन्ता लाग्छ ।’

२०५९ सालदेखि नर्सिङ पेसामा लागेकी उनी कोशी अस्पतालमा नर्सिङ अधिकृतको रूपमा कार्यरत छिन् । ‘अस्पतालले खटाएपछि आफ्नो दायित्व ठाने,’ उनी भन्छिन्, ‘पहिलो दिन तर डर लाग्यो, तर यो हाम्रो लागि सेवा गर्ने अवसर पनि हो ।’

कोरोना संक्रमितको उपचार गर्ने चिकित्सकको टोली एक हप्ता संक्रमितको उपचारमा खटिन्छन् । त्यसपछि १४ दिन क्वारेन्टाइन बस्नुपर्छ । ‘घरमा छोराहरू आफैँ खाना पकाएर खान्छन्’ उनले भनिन्, ‘फोन गरेर काम गर्न हौसला दिइरन्छन् ।’ उनका जेठा छोरा एलिस १७ वर्षका छन् । कान्छा छोरा आशिष ८ वर्षका छन् । दुई छोरा एक्लै घरमा बसिरहेको उनले बताइन् ।

छिमेकीले घर नआउनु भने, कार्ड देखेर बाटो हिँड्ने भागे

कोशी अस्पतालमा आइसोलेसन सुरु भएदेखि पुनमको ड्युटी आइसोलेसनमा प¥यो । तर उनी आइसोलेसनमा काम गर्न थालेपछि टोलका छिमेकीले अर्कै व्यवहार गर्न थाले । साहको घर विराटनगर– १० न्यूरो अस्पताल नजिकै पर्छ ।

‘अस्पतालबाट हिँड्दै घर जान्छु,’ उनी भन्छिन् ‘कोशीको आइडी कार्ड भिरेको देख्दा बाटोमा हिँड्नेहरू तर्किन्थे ।’

पुनम शाह

छिमेकीले पनि टोल जोखिम हुने भन्दै नआउन आग्रह गरेको उनले बताइन् । ‘जोखिम भएपछि म घर आउँदिन् क्वारेन्टाइनमा बस्छु भनेको थिए,’ उनले भनिन्, ‘म नर्स भएका कारण छोराको ट्युसन कक्षा पनि छुट्यो ।’

आफ्नो जिम्मेवारीमा केन्द्रित भएकी साह टोल छिमेकीले हेला गरेपनि अस्पताल प्रशासनबाट राम्रो व्यवहार भएको बताउँछिन् । ‘यहाँ काम गर्दा स्टर्न स्टार होटलको क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘संक्रमित पनि सहयोगी हुनुहुन्छ ।’

ड्युटी पाउँदा हर्षित, सेवा गर्न डर मान्दिनँ

पुनसँगै विराटनगरकी सुनिता गडेरी कोरोना संक्रमितको उपचारमा खटिएकी छन् । स्कुल हेल्थ नर्सिङमा कार्यरत उनको दरबन्दी खोटाङको दिक्तेलस्थित सरस्वती माविमा छ ।

लकडाउनका कारण उनलाई प्रदेश सरकारले कोरोना उपचार केन्द्रमा खटाएको छ । उनी संक्रमितको उपचार गर्न पाउँदा हर्षित भएको बताउँछिन् । ‘मैले त यहाँ ड्युटी पाउँदैछु भनेर टोलका सबैलाई सुनाए,’ उनी भन्छिन्, ‘यहाँ काम गर्न एक्साइटेड थिए, घर परिवारबाट पनि हौसला मिल्यो ।’

उनी संक्रमितको उपचारमा जहाँ खटाएपनि आफू तयार रहेको बताउँछिन् । पुनमको सोच पनि सुनिताको जस्तै छ । ‘मलाई आफ्नो जिम्मेवारी पूरा गर्न जहाँ पठाए पनि जान्छु,’ उनी भन्छिन्, ‘संकटको बेला हामीले भाग्न मिल्दैन ।’

मेची अस्पतालमा कार्यालय सहयोगीको रूपमा काम गर्दै आएकी लीला भट्टराई पनि संक्रमितको सेवामा काम गर्न पाउनु आफ्नो अवसर भएको बताउँछिन् । उनलाई घर परिवारबाट पनि सहयोग मिलिरहेको छ ।

फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरू सामान्य मानिसभन्दा बढी जोखिममा छन् । बिरामीको सेवा आफ्नो धर्म ठानेका उनीहरू डरलाई मनभित्रै दबाएर दिनहुँ ड्युटी गर्छन् ।

‘बिरामीको प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्नुपर्ने भएकोले जोखिम त छदै छ,’ पुनम भन्छिन् ‘मलाई केही भइहाल्यो भने बालख छोराछोरी के गर्छन् भन्ने चिन्ता लाग्छ ।’

‘बालख छोरा घरमा, आमा संक्रमितको सेवामा’

विराटनगर १० की पुनम साह चार दिनयता विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा कोरोना संक्रमितको उपचारमा खटिएकी छन् । उनी खटिएको अस्पतालमा १९ जना कोरोना संक्रमितले उपचार गराइरहेका छन् ।

Posted by Koshi Online on Tuesday, May 12, 2020
Loading...