सुनसरीबाट ठूलो परिमाणको लागूऔषधसहित एकजना पक्राउ

सुनसरी, ३० वैशाख । सुनसरीको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा पोष्ट चतराले ठूलो परिमाणको लागूऔषधसहित १ जना पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीले सोमबार वराहक्षेत्र नगरपालिका-८ बाट कोशी गाउँपालिका-१ स्थित लौकही बस्ने १९ वर्षका रोशन झालाई लागूऔषधसहित पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीले नहरको वाटोमा राखेको चेक प्वाइन्टवाट लौकहीबाट स १० प ४६९२ नम्बर पल्सर मोटरबाइकमा आउँदै गरेको झालाई बिहान ४ वजे पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा पोष्ट चतराका प्रहरी निरीक्षक अशोक न्यौपानेले बताए ।

पक्राउ परेका झाको साथबाट २ एम एल को १ सय ५० को दरले लिजेसीक, फेनारगन र डाइजेपाम गरी ४ सय ५० थान इन्जेक्सन एमपुल ६५ बोटल डाइलेक्स २ वोटल फेन्सीडल तथा ६० वटा पत्तामा १४ सय ४० गोटा स्पास्मो प्रोक्सीभेन क्यापसुल, नेपाली ११ हजार ८ सय १० र भारतीय रुपैया १ हजार २ सय ३० रुपैंया र मोबाइल र घडी १-१ थान साथै निलो रंगको स १० प ४६९२ नम्बर मोटरबाइक बरामद गरिएको प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए ।

Loading...