ट्वीटरले कोभिड–१९ सम्बन्धी ट्वीटलाई विशेष निगरानी गर्ने

एजेन्सी, ३० वैशाख । सामाजिक सञ्जाल ट्वीटरले सोमबार विज्ञप्ति जारी गर्दै प्रयोगकर्ताले भ्रामक वा विवादित ट्वीट लेख्न थाले सचेत गराउने नयाँ नियम लागू गरिएको जनाएको छ ।

विश्वव्यापी प्रकोपको समयमा कोभिड–१९ सम्बन्धी गलत एवम् भ्रामक जानकारी ट्वीट नहोस् भन्ने योजनाका साथ ट्वीटरले नयाँ नीति ल्याएको हो ।

टेक कम्पनीहरूले आफ्नो सञ्जालमार्फत अफवाह र भ्रम फैलिन नदिन ल्याएकोमध्ये सबैभन्दा कडा र नयाँ नीति ट्वीटरले लागू गरेको हो ।

यसअघि नै विश्वभरि सर्वाधिक प्रयोग गरिने युट्युबले पनि यस्तो नीति अवलम्बन गरीसकेको छ । सामाजिक सञ्जालमार्फत हुने गलत जानकारी विस्तारप्रति ट्वीटरको गम्भीर ध्यानाकर्षण भएको र आफ्नो भूमिका अझ सशक्त बनाउन ट्वीटर लागि परेको देखिन्छ ।

तर, लागू गरिने नयाँ नीति कसरी प्रयोग हुन्छ र यसले कतिको प्रभावकारी भूमिका निर्वाह गर्छ त्यसको नतिजा भने हेर्न बाँकी नै छ । कोभिड–१९ सम्बन्धी सबैभन्दा पछिल्लो जानकारीका आधारमा ट्वीटलाई निगरानी गर्दै भ्रम, विवाद र अफवाह फैलाउन सक्ने ट्वीट लेख्ने प्रयोगकर्तालाई ट्वीटरले सचेत गराउनेछ ।

ट्वीटरले आफ्नो सञ्जालमा प्रत्यक्ष रूपमा ट्वीटलाई गलत भनेर दाबी गर्न नसक्ने र आफैंले तथ्य जाँच गर्न पनि असम्भव भएका कारण ट्वीट गर्ने प्रयोगकर्तालाई व्यक्तिगत रूपमा चेतावनी दिएर खबरदारी गर्नेछ ।

ट्वीटरका वरिष्ठ रणनीति जानकार निक पिक्ल्सका अनुसार त्यस्ता भ्रामक, गलत ट्वीट गर्ने प्रयोगकर्तालाई चेतावनीसहित गल्ती सच्याइएको ट्वीट, सार्वजनिक स्वास्थ्यबारे जानकारी दिने वेबसाइट र लेखहरू पठाइनेछ ।

Loading...