लकडाउनमा जुनै बेला पनि ड्युटीका लागि तत्पर रहन्छौं

कोरोना सक्रमण रोकथाममा खटिएका फ्रन्टलाइनका सिपाहीको अनुभव

सुनसरीको झुम्का, घर भएकी २२ वर्षीया प्रतीमा राई चार वर्षदेखि प्रहरी सेवामा छिन् । उनी लकडाउनमा विराटनगरमा कोरोना संक्रमण रोकथामका लागि फ्रन्टलाइनमा खटिरहेकी छन् । लामो लकडाउनमा खटिँदाको अनुभव कोशी अनलाइनका लागि बबिता लिम्बूसँग उनी यसरी बताउँछिन् ।

लकडाउनमा सबै सुरक्षित हुन घरमै बसिरहेका छन् । तर तपाईंहरू सधै फिल्डमा खटनुपरिरहेको छ, कस्तो महशूस हुन्छ ?

कोरोना माहामारीको डर त सबैलाई हुन्छ नि तर पेशाको कर्तब्य पनि त भुल्नु हुँदैन नि । विश्व नै विपत्तिमा परिरहेको बेला देश र जनताको सुरक्षाका निम्ति खटिँन पाउँदा गर्व लाग्छ ।

अरु जस्तै आफू पनि घरमै बस्न पाएहुन्थ्यो जस्तो लाग्दैन ?

मैले रोजेको जीन्दगी नै पुलिसको हो । यसैले त्यस्तो लाग्दैन । बरु विपतको समयमा देश र जनताको लागि सेवा गर्ने अवसर पाएकी छु । परिवार भेट्न मन लागेको बेला भेट्न नपाउँदाचाहिँ मन खल्लो हुन्छ ।

घरपरिवारसँग भेटघाट नभएको कति भयो ?

परिवारसँग भेटघाट नभएको ६ महिना जति भयो । लकडाउन अघि त दुई–दुई महिनामा घरजान पाइन्थ्यो । तर लकडाउनपछि घर जान पाइएको छैन । यसैले अलि घरको न्यास्रोचाहिँ लागिरहेको छ ।

तपाईंको पेशादेखि परिवार सन्तुष्ट छन् ?

बुबा, दाजु वैदेशिक रोजगारीमा जानुभएको छ । म मात्रै हो स्वदेशमै सरकारी जागिर खाने । मेरो पेशाबाट वहाँहरू सन्तुष्ट मात्र हैन धेरै खुशी हुनुहुन्छ ।

तपाईंहरूको सुरक्षाका लागि सरकारले के–कस्तो व्यवस्था गरिदिएको छ ?

नेपाल सरकारले हामी सुरक्षाकर्मीहरूको लागि मास्क, पञ्जा, सेनिटाइजरको व्यवस्था गरिदिएको छ ।

माहामारीको बेला के–के सुविधा थपिएका छन् ?

तलव वृद्धि त भएको छैन । तर विपतको घडीमा खटिएवापत भत्ता दिने कुराचाहिँ सुनेका छौँ । तर पाउँछौं, पाउँदैनौं त्योचाहिँ थाहा छैन । सायद पाउछौँ । अब पाइएन भने पनि माग्ने कुरा आउँदैन । अनि कोरोना लागेर मृत्यु भयो भने ५० लाख परिवारलाई क्षतिपूर्ति दिने घोषणा पनि भएको छ ।

सुरक्षाकर्मीहरूमा लामो लकडाउनले कस्तो प्रभाव पारेको छ ?

लकडाउनअघि ड्युटीको समय निश्चित थियो । तर लकडाउन सुरु भएयता जुनै बेलापनि तयार रहनुपर्छ ।

तपाईं महिला सुरक्षाकर्मी कोरोना संक्रमणको बेला के–के चुनौती थपिएका छन् ?

सुरक्षा संगठनमा महिला, पुरुष भन्ने विभेद त हुँदैन । तर आफू जागिरे भएसँगै एउटा विवाहित महिला पनि भएको कारण घर व्यवहारको पनि ख्याल राख्नुपर्ने जिम्मेवारी पनि छ । यसैले पुरुषले जस्तो ढुक्कचाहिँ हुन नसकिने रहेछ । घरपरिवारको केही न केही चिन्ता लागिहाल्दोरहेछ । तर मेरो श्रीमान पनि सुरक्षाकर्मी नै भएकोले धेरै सहयोग भएको छ ।

लकडाउन पालना गराउँदा सर्वसाधारणको व्यवहार कस्तो भोग्दै हुनुहुन्छ ?

लकडाउन थपिँदै गएकोले होला दिक्क भएर अहिले त वहाँहरू पनि रिसाउन थाल्नुभएको छ । माहामारीको बेला यसरी बाहिर निस्कनु खतरा हुनसक्छ भनेर सम्झाउँदा पनि उल्टो झगडा गर्नतिर लाग्नु हुन्छ । के गर्ने हाम्रो त काम नै सर्वसाधारणलाई सचेत गराउने हो । वहाँहरूले पनि यो कुरा बुझिदिए हुनेथियो जस्तो लाग्छ । कतिजनाले चाहिँ बुझेर पनि अटेर गर्नुहुन्छ ।

Loading...