सीमा मिचेर ठूलो भूभाग भएको छिमेकी हैन ठूलो हृदय भएको छिमेकी चाहिन्छ : धुर्मुस

विराटनगर, ३० वैशाख । कलाकारिता क्षेत्र तथा सामाजिक काममा सक्रिय रहेका नेपाली चलचित्रका चर्चित अभिनेता सीताराम कट्टेल (धुर्मुस)ले भारतले सीमा मिचेर लिपुलेकमा सडक निर्माण गरेको विषयमा आवाज उठाएका छन् ।

धुर्मुसले यस बिषयमा बोल्दै नेपाली भूमि फिर्ता गर्न भारतले छिटो कदम चाल्न आग्रह गरेका छन् ।

साथै उनले सीमा मिचेर ठूलो भूभाग भएको छिमेकी हैन ठूलो हृदय भएको छिमेकी चाहिएको आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।

‘विभिन्न समयमा नेपालको सीमा मिचिरहने र विवादमा आइरहने भारतले आफ्नो स्वभावलाई पछिल्लो कदम अन्तर्गत लिपुलेक हुँदै चिनको तिब्बतस्थित मानसरोवर जाने सडक निर्माणले प्रष्ट पारेको छ,’ धुर्मुसले लेखेका छन्, ‘कालापानी, लिपुलेक र सुस्तामात्र होइन, नेपाल–भारत सीमाका ७१ स्थानमा भारतीय पक्षले सँधै विवाद निकाल्दै आएको छ । तसर्थ स–सम्मान नेपाली भूमि फिर्ता गर्न भारतले यथासक्य छिटो कदम चालोस् भनी आग्रह गर्दछौँ ।’

‘साथै, नेपालले पनि अन्तर्राष्ट्रिय कानुन अनुरुप कूटनैतिक ढंगबाट सीमा विवाद सुल्झाउन पहल गरोस् भन्ने चाहन्छौँ । हामीलाई सीमा मिचेर ठूलो भुभाग भएको छिमेकी हैन ठूलो हृदय भएको छिमेकी चाहिएको हो । जननी जन्म्भूमिस्च स्वर्गादपी । हामी सबैलाई हाम्रो जन्मभूमि स्वर्गभन्दा प्यारो छ । त्यसैले, पटक–पटक हुने सीमा विवादले सामाजिक अस्थिरता, तथा राजनैतिक विचलनसमेत हुन सक्ने हुँदा यसको दीर्घकालिन समाधानका लागि आवेगमा आएर हैन संयम बनेर अगाडि बढ्न सम्बन्धित सबैसँग अपिल गर्दछौँ,’ उनले लेखेका छन् ।

Loading...