मिचिएको भूमीबारे सुनबाई नभएको नेकपा नेता रावलको गुनासो

काठमाण्डौ , ३० बैसाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले नेपालको भूमि भारतले अतिक्रमण गरेको विषयमा पटक पटक ध्यानाकर्षण गर्दा पनि सुनुवाई नभएको बताएका छन ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेता रावलले देश र जनता सुरक्षित नभइ कुनै पनि काम अगाडी बढ्न नसक्ने भन्दै नेपालको भूमी भारतले अतिक्रमण गरेको विषयमा पटक पटक ध्यानाकर्षण गर्दा पनि सुनुवाई नभएको बताएका हुन ।

पुर्व गृह तथा रक्षा मन्त्री रावलले कालापानी क्षेत्रको सुरक्षाका लागि सुरक्षाकर्मी खटाउनबारे उचित प्रवन्ध गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले सडक निर्माणका लागि नेपाली सेनालाई जिम्मा दिनुपर्ने भएपनि अहिलेम्म कुनै काम सुरु नभएको उनले बताए ।

पञ्चायत कालमा समेत दार्चुलाको सीतापुलमा भारतीय र तिंङकरमा चीनसँगको भन्सार विन्दु सञ्चालन रहेको तर अहिले सबै बन्द भएकोले सरकारले चासो दिनुपर्नेमा पनि रावलले जोड दिए ।

अर्कोतिर कोरोना संक्रमण रोक्ने सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुकै सुरक्षाको व्यवस्थापन नै हुन नसकेको भन्दै रावलले भौतिक संरचना निर्माण लगायत व्यक्तिगत आवश्यक उपकरणहरुको प्रवन्ध गर्ने नीति अघि सार्न सरकारसँग आग्रह गरे ।

संसदमा मंगलबार आगामी आर्थिक वर्षको विनियोजन र प्राथमिकताका सिद्धान्तका विषयमा आफ्नो धारणा राख्दै नेता रावलले राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रलाई प्राथमिकता दिएर बजेट निर्माण गर्न माग गरे ।

उनले ग्रामिण क्षेत्रमा उत्पादन हुने तरकारी सडेर जाने तर भारतबाट ट्रकका ट्रक तरकारी नेपाल भित्रिरहेकोबारे पनि सरकारलाई गम्भिर हुन आग्रह गरे ।

Loading...