विराटनगर, ३० वैशाख । धेरै मानिसहरूलाई उल्टो अर्थात् घोप्टे परेर सुत्ने बानी हुन्छ । उल्टो सुत्नु अर्थात् पेटलाई तल र ढाडलाई माथि फर्काएर सुत्नुलाई बुझिन्छ ।

मानिसहरूलाई यसरी सुत्दा राम्रो र गहिरो निन्द्रा लाग्छ भन्ने सोच हुन्छ । तर, यसरी उल्टो सुत्दा मानिसहरूको शरीर नकारात्मक रूपमा धेरै तरिकाले प्रभावित हुने गर्छ ।
उल्टो सुत्ने मानिसहरूले प्राय मुखबाट र्याल टपकाउने वा र्यालका कारण सिरानी भिजाउने गर्छन्, साथै, यस्ता मानिसहरू प्रायः शरीरको कुनै न कुनै भाग दुखिरहने हुन्छ ।
उल्टो सुत्नु देखापर्ने केही समस्याहरू :
टाउको भारी हुनु : केही मानिसहरूलाई बिहान उठेदेखि टाउको दुख्ने गुनासो हुन्छ भने केहीलाई दिनभर टाउको दुखिरहने हुन्छ । उल्टो सुत्दा सिरानीमा टाउको राख्ने तरिकाले हाम्रो घाँटी तलतिर मोडिन्छ ।
यसले दिमागमा रक्तसञ्चारलाई नकरात्मक रूपमा असर गर्दछ । यसरी सुत्दा टाउकोमा एक प्रकारको खालीपन र तनाव बढ्छ जसले टाउको दुख्ने वा टाउको भारी हुने समस्याहरू निम्त्याउँछ ।
ढाड दुख्छ : धेरै समयको लागि उल्टा सुत्ने मानिसहरूले ढाड दुख्ने गुनासो गर्न थाल्छन् । किनभने पेटमा सुत्दा हाम्रो ढाडको हड्डी प्राकृतिक आकारमा रहँदैन ।
सुत्ने समयमा ढाडको हड्डी धेरै समय गलत आकारमा रहँदा र थप दबाबको कारण, केही समयपछि ढाड दुख्ने समस्या सुरु हुन थाल्छ ।
पेटमा समस्या : उल्टा सुत्दा पेटमा दबाब पर्ने हुँदा खानाको पाचन राम्रोसँग हुन नसक्ने कारणले प्राय: अपच, ग्यास्ट्रिक, कब्जियत तथा पेट दुख्ने समस्या निम्तिन सक्छ । उल्टो सुत्ने कारणले खाना पचाउने क्रममा उत्सर्जित ग्यास शरीरबाट बाहिर आउन सक्षम हुँदैन । जसकारण शरीरका कुनै न कुनै भागमा दुखाइ भइरहन्छ ।
बच्चामा हुने असर : उल्टा सुत्ने बच्चाहरूमा दिमागको विकासमा नकारात्मक असर पर्न सक्छ । धेरै समयसम्म उल्टा सुत्ने बच्चाहरूमा हाइटको समस्या र छिट्टै पेटका समस्याहरू देखिन थाल्छन् ।