दिल्लीबाट हिँडेरै विराटनगर आइपुगे ११ नेपाली, मध्यरातमा भारतीय प्रहरीले चोर बाटो देखाए

विराटनगर, ३० वैशाख । भारतको विभिन्न स्थानबाट १५ नेपाली विराटनगरको सीमावर्ती क्षेत्र रानी आइपुगेका छन् । साेमबार राति भारतकाे दिल्ली र बिहारबाट १५ नेपाली विराटनगरकाे रानी आइपुगेका हुन ।

सोमबार राति सीमावर्ती क्षेत्र जोगबनी आइपुगेका उनीहरूलाई भारतीय प्रहरीले चोरबाटो हुँदै नेपाल पठाएकाे थियाे ।

नेपाल प्रवेश गर्नेहरुमा ११ जना दिल्लीबाट आएका छन् । ४ जना बिहारको छप्रा जिल्लाबाट आएकाहरू हुन् ।

दिल्लीबाट आएकाहरू ११ दिनको पैदल र ट्रकको यात्रापछि जोगबनी आइपुगेका हुन् । लकडाउनका कारण खान नपाउने अवस्था भएपछि पैदल आएकाे उनीहरूले बताए । नेपाल आउने क्रममा केही स्थानमा ट्रकमा लिफ्ट मागेकाे उनीहरूले बताए ।

राति करिब १२ बजे जोगबनी आइपुगेका उनीहरूलाई भारतीय प्रहरीले राति करिब २ बजे रेल्वे स्टेशनतर्फको बाटो हुँदै नेपाल पठाएको प्रहरी स्राेत बताउँछ ।

‘राति २ बजे आएका कारण हामीले रोकेर राखेका छौं,’ इलाका प्रहरी कार्यालय रानीका प्रहरीनिरीक्षक दीपक थापाले भने, ‘स्थानीय सरकारसँगको समन्वयमा क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको छ ।’

उनका अनुसार झापाका ४ जना, मोरङका २ जना र सुनसरीका ९ जना नाकामा राकिएका हुन् । उनीहरूलाई सम्बन्धित स्थानीयतहसँग समन्वय गरेर पठाउने तयारी भइरहेको छ ।

Loading...