सीमानामा कोरोना छेक्न सुरक्षाकर्मी : प्लाष्टिक टेन्टमा बास, बाँसको लाठी साथ

यज्ञ अधिकारी
विराटनगर, ३० वैशाख

स्थान–विराटनगर महानगरपालिका-१८ स्थित इस्लामपुर नाका

अवस्था– यहाँ नेपाल-भारत सीमाना खुल्ला छ । नेपालतर्फ सशस्त्र प्रहरीको अस्थायी कोरोना क्याम्प छ । प्लाष्टिको टेन्ट लगाएर वरिष्ठ हवल्दार तीर्थ श्रेष्ठको नेतृत्त्वमा ४ जना सशस्त्र प्रहरी खटिएका छन् । उनीहरू पालो मिलाएर दुई-दुई जना ड्युटी खट्ने गरेका छन् । तर सीमाना खुल्ला भएकोले वारिपारि मानिसहरू गरिरहन्छन् ।

कोही घाँस काटन जान्छन् कोही किनमेल गर्न । अनि कोही पशु चराउन त कोही खेती गर्न आउजाउ गर्छन् । ड्युटीमा खटिएका सशस्त्र प्रहरी हालतमा लाठी लिएर दिनभरि मान्छे हर्काउदा हर्काउदा हैरान हुन्छन् ।

असुरक्षित प्लाष्टिकको टेन्ट हावाहुरी र पानी नथेगेपछि उनीहरूसँगै टाँसिएको एउटा फुसको छाप्रोमा सुत्दै आएका छन् । सेनिटाइजर छैन । सबैलाई टर्च उपलव्ध छैन । राति आफ्नै मोवाइलको प्रयोग गर्छन् ।


स्थान– मोरङको जहदा गाउँपालिका-१ को पचरी बस्ती

अवस्था– यहाँ सीमाना खुल्ला छ । नेपाल प्रहरीको असइको कमाण्डमा १० जना प्रहरी जहदा गाउँपालिका र विराटनगर महानगरको खुल्ला सीमाक्षेत्रमा कोरोना निगरानी गर्न खटिएका छन् । उनीहरू नेपालतर्फ स्कूलमा बसेका छन् । वडा अध्यक्षसँग समन्वय गरेर स्थानीयहरूको सहयोगमा खाना खाइरहेका छन् । उनीहरू दुई-दुई जना दूरी बनाएर ड्युटी गर्छन् । हातमा आफैंले बनाएको बाँसको सानो लाठी मात्र छ । ड्युटीमा डुल्दा पानी पनि दशगजा नजिकै रहेका भारतीयहरूको कलबाट भरेर पिउँछन् । दाजुभाई नातागोता वारिवारि भएकोले दशगजा वारिपारि गरिरहनेहरूलाई हर्काउदा र सम्झाउँदा प्रहरीहरू हैरान छन् ।

माथिका दुई अवस्था उदाहरण मात्र हुन् । हाल कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रणका लागि खुल्ला सीमानामा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मीहरू दयनीय अवस्थामा खटिरहेका छन् । हावाहुरी र पानीको समयमा उनीहरू झन कष्ट खेप्न बाध्य छन् । वैशाखमा पटक-पटक आएको हुरीमा उनीहरू टेन्ट समाएर बस्न बाध्य भएका थिए ।

स्रोत साधनको अभावले गर्दा सीमा क्षेत्रमा थप गरिएका सशस्त्र र नेपाल प्रहरीका सुरक्षाकर्मीहरू खुल्ला सीमानामा लाठीको भरमा नेपाल आउन खोज्ने र भारत जान खोज्नेहरूलाई हकाउने गरेका छन् । उनीहरूसँग सवारीका नाममा एउटा साइकल र हतियारका नाममा आफैंले बनाएको बाँसको लाठी । टर्च लाइट पनि छैन । सबैसँग मास्क र सेनिटाइजर पनि छैन ।

एक नम्बर प्रदेशको सुनसरी, झापा, मोरङ र इलामको नेपाल भारतको खुल्ला सीमाना पूर्ण लकडाउन गर्न सशस्त्र प्रहरीले थप कोरोना सीमा सुरक्षा क्याम्प र नेपाल प्रहरीले थप सुरक्षा चेक प्वाइन्ट स्थापना गरेर सुरक्षा सर्तकता बढाइएको छ । तर सीमानामा खटिएका सबै सुरक्षाकर्मीहरूको अवस्था दयनीय छ ।

नाकामा खटिएका नेपाल प्रहरीका सुरक्षाकर्मीहरूका अनुसार कोरोना पोष्टमा खटाएपछि माथिल्लो तहबाट एकपल्ट पनि अनुगमन भएको छैन । न त अवस्थाबारे जान्ने बुझ्ने काम नै भएको छ ।
एउटै परिवार जस्तो भएर बसेका दुवै देशका नगरिकलाई आउजाउमा नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे परिरहेको छ ।

महामारी नियन्त्रणलाई सरकारले सीमाना बन्द गरेको भए पनि एउटै आगन रहेका दुवै देशका स्थानीयलाई रोक्न मुस्किल परेको प्रहरीहरू बताउँछन् । खुल्ला सीमानामा कतै दशगजा मिचेर घर बनाएका छन् भने कतै दशगजालाई नै एउटै आँगन बनाइएको छ । शौच गर्न पनि दुवै देशका नागरिकहरू दशगजामै आउने गरेका छन् ।

चार जिल्लामा शसस्त्रको २ सय ९३ कोरोना बेस

प्रदेश नं १ इटहरीस्थित सशस्त्र प्रहरी बराह बाहिनीका डिआइजी नगेन्द्रबहादुर थापाका अनुसार लकडाउन उल्लंघन गर्दै चोरबाटोबाट नेपाल आउनेहरूलाई नियन्त्रण गर्न इलाम, झापा, मोरङ र सुनसरीमा जम्मा २ सय ९३ वटा अस्थायी शसस्त्र कोरोना सीमा सुरक्षा क्याम्प स्थापना गरिएका छन् ।

भारतसँग सीमाना जोडिएका चार जिल्लामा आवश्यकताअनुसार कतै एक त कतै दुई किलोमिटरको दूरीमा अस्थायी कोरोना सशस्त्र कोरोना सीमा सुरक्षा क्याम्प स्थापना गरिएका छन् ।

जसमध्ये इलाममा १५ स्थानमा १२२ जना, झापामा १२८ स्थानमा ६५१ जना, मोरङमा ७१ स्थानमा ४०६ जना र सुनसरीमा ७९ स्थानमा ४ सय ९६ जना गरी जम्मा १६ सय ९५ जना कोरोना क्याम्पमा र सम्बन्धित जिल्लामा रहेका गण, गुल्म र विओपीमा ११ सय १५ जनासहित जम्मा २९ सय ४४ जना सशस्त्र प्रहरीहरू खुल्ला बोर्डर निगरानीमा खटिएका छन् ।

सशस्त्र प्रहरीहरूले दिउँसो-राति चौबिसै घण्टा फरवार्ड गस्ती गरेर खुल्ला सीमानामा आवत-जावतको निगरानी गदैछन् । कोराना क्याम्पमा खटिएका सशस्त्र प्रहरीहरूलाई सम्बन्धित स्थानमा रहेको बेश र बीओपीले खाना आपूर्ति गराउँदैछन् ।

पहिले प्रदेश नं १ मा सशस्त्र प्रहरीको २४ वटा बोर्डर आउट पोष्ट (बिओपी) थिए । जसमा ३५ जना सुरक्षाकर्मीहरू ईन्स्पेक्टरको कमाण्डमा रहन्थे । सबै बीओपीहरू काँडेतारले घेरिएका सुरक्षित अवस्थामा छन् ।

नेपाल प्रहरीका २ सय २९ वटा पोष्टमा ११ सय १ जना जनशक्त्ति

प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका प्रवक्त्ता डीएसपी सुमन तिम्सिनाका अनुसार सीमा नाकाको लकडाउन निगरानी गर्नका लागि सिनियर प्रहरीको कमाण्डमा पाँचथर, इलाम, झापा, मोरङ, सुनसरीमा २ सय २९ वटा पोष्ट स्थापना गरिएका छन् । जसमा हाल ११ सय १ जना प्रहरी खटिँदै आएका छन् ।

पहिले सीमाक्षेत्रमा जम्मा १ सय १२ वटा मात्र प्रहरी चौकी थिए । उनीहरू सबै सम्बन्धित जिल्लाबाट परिचालन हुनेगरेका छन् । खाने-बस्ने व्यवास्था स्थानीय पालिकाहरूको समन्वयमा भइरहेको छ ।

नेपाल प्रहरीले एउटा मात्र सीमाचौकी रहेकोमा २ वटा थप गरेको छ । यस्तै ४२ वटा चौकी रहेकोमा १०५ मोरङमा १४ रहेकोमा ३६ र ४० वटा पोष्ट रहेको सुनसरीमा ६० वटा पुर्‍याएको छ ।

प्रवक्ता तिम्सिनाका अनुसार सीमाक्षेत्रको लकडाउन अवस्थाको अनुगमन नेपाल प्रहरीको सशस्त्र गण र एक नम्बर प्रदेश प्रहरी कार्यालयमा रहेका एसपी र डिएसपीको टोलीले गर्दैछ ।

दक्षिणमा २ सय ७० किमी खुल्ला बोर्डर

तथ्यांकअनुसार कोशीपूर्व सुनसरी, मोरङ र झापा जिल्लाको दक्षिणतर्फ २ सय ७० किलोमिटर लामो सीमाना छ । यसैगरी पूर्वतर्फ झापा र इलाममा ५० किलोमिटरभन्दा लामो भारतसँगै जोडिएको खुल्ला सीमाना छ ।

खुला सीमाले लकडाउन कार्यान्वयनमा समस्या || कोशी रिपोर्ट

मोरङका सीमावर्ती क्षेत्रमा दुई देशका नागरिक छिमेकी छन् । सीमास्तम्भमै जोडेर घर बनाएर दुुवैतर्फबाट बसोबास भइरहेको छ । यही कारण लकडाउन कार्यान्वयनमा समेत समस्या देखिएको छ ।

Posted by Koshi Online on Tuesday, May 12, 2020
Loading...