झापा, २९ बैशाख । भारतीय सीमा क्षेत्रमा रहेका नेपालीलाई ल्याएपछि राख्नका लागि झापामा क्वारेन्टाइन बनाइएको छ ।
जिल्ला बाहिरबाट आएका बासिन्दालाई स्थानीय पालिकाहरुले राख्न नमान्ने भएको कारण मेची बहुमुखी क्याम्पसमा छुट्टै क्वारेन्टाइन बनाइएको हो ।
कोरोना सङ्क्रमण रोकथाम जिल्ला अनुगमन तथा जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलले मेची बहुमुखी क्याम्पस भद्रपुरको विज्ञान संकायको भवनमा क्वारेन्टाइन निर्माण भइरहेको जानकारी दिए ।
भारतीय सीमा नजिक रहेका नेपालीलाई नेपाल आउने अनुमति दिएपछि त्यही ल्याएर राखिने उनको भनाइ छ ।
नेपाली सेनाले व्यवस्थापन गर्ने गरी तयार गरिएको क्वारेन्टाइनमा १०० वटा बेड तयार गरिएको छ ।
तीन सय बेडको क्वारेन्टाइन तत्काल निर्माण गरिने र आवश्यक परे थप बेडको समेत व्यवस्था गरिने संयोजक पोर्तेलले बताए ।
यस अघि सेनाकै व्यवस्थापनमा चन्द्रगढीस्थित कलबलगुडीमा ९२ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ ।
जसमा जिल्ला भन्दा बाहिरका व्यक्तिहरुलाई राखिएको छ ।
क्वारेन्टाइन निर्माणका लागि आवश्यक पर्ने कम्बल, झुल, म्याटे«स, तन्ना, माक्सलगायतका दुई दुई सयका दरले सामग्री नेपाल रेडक्रस सोसाइटी झापाले प्रदान गरेको छ ।