घर–घरमा राहत पुर्‍याउँदै विराटनगरका युवा

विराटनगर, २९ वैशाख । टेबलमा राखेको मोबाइलमा घण्टी बज्छ । फोन उठाउँदा उताबाट आवाज आउँछ ‘दाजु चामल सकियो ! उनले प्रश्न गर्छन् भाइको घर कहाँ ? जवाफ आउँछ – नोबेल मेडिकल कलेज छेउ ।’ फोन राख्नुअघि उनले भन्छन्, ‘बेलुकासम्म पर्खनु २ पोका घरमा ल्याइदिन्छु ।’

विराटनगरका युवा अभियान्ता शुशील रिजाललाई राहत माग्दै दैनिक यस्तै फोन आउँछन् । माग भएका ठाउँमा उनी अन्य युवाहरूसहित राहत बाँड्न पुग्छन् ।

‘आज २१ दिन भयो, विपन्नको घरमै चामल, तेल र तरकारी पुर्‍याउँदैछौं ।’ विराटनगरमा सुधार केन्द्र समेत सञ्चालन गर्दै आएका रिजाल भन्छन्, ‘साथीहरूले चामल उपलब्ध गराएका छन्, समस्यामा परेकाहरूलाई पुर्‍याइरहेका छौं ।’

पछिल्लो २१ दिनमा विराटनगरका ४ सय परिवारलाई १० र ८ किलोका दरले चामल घर–घर पुर्‍याइदिएको उनले बताए । राष्ट्रिय युवा संघ विराटनगर महानगर कमिटिमार्फत चामलसँगै दुईवटा बन्दा कोपी, एक किलो टमाटर, आधा लिटर तेल र एक किलो नुन वितरण गर्दै आएको उनले बताए ।

‘सुरुमा युवासंघका साथीहरूले एक–दुई हजार राहत वितरण गरेका थियौं,’ उनले भने, ‘सहयोग जुटेपछि निरन्तर वितरण गरिरहेका छौं ।’

दाताहरूबाट चामल सहयोग आएका कारण ५ जेठसम्म समस्यामा परेकाहरूलाई राहत पुर्‍याइदिने उनले बताए ।

Loading...