शोभादेवी मरिक (४८) विराटनगरमा फोहोर मैला व्यावस्थापन गर्ने वेस्ट मेनेजमेन्ट कम्पनीमा कार्यरत छिन् । कोरोना भाइरस संक्रमणको उच्च जोखिममा फ्रन्टलाइनर सफाइ कर्मचारीहरू पनि छन् । तर शोभादेवीले जतिसुकै त्रास भएपनि बिहान महानगर सफा गर्न छाडेकी छैनन् ।

उनी सधैँ आफूजस्तै २० जना महिलाहरूसँगै महानगरमा कुचो लगाउँछिन् । विराटनगर–१२ केशलिया रोडस्थित डोमबस्तीमा स–परिवार बसोवास गर्दै आएकी शोभादेवीसँग कोशी अनलाइनका लागि बबिता लिम्बूले गरेको कुराकानी ।
परिवारमा को-को हुनुहुन्छ ?
श्रीमान् बितेको ७ वर्ष भयो । दुई छोरा र तीन छोरी छन् । छोरीहरू सबै बिहे गरेर आ–आफ्नो ससुरालमा छन् । जेठो छोरा घर छेवैमा छुट्टिएर बसेको छ । मचाहिँ कान्छो छोरासँग बस्छु । अहिले परिवारमा कान्छो छोरा, बुहारी र एक नातिनी छन् ।
लकडाउनमा पनि काममा जानुहुँदैछ ?
के गर्ने हजुर काम नगरी त ? म र मेरो कान्छो छोरा लकडाउन सुरु भएपनि काममा जाँदैछौं ।
लकडाउनमा सबै घरमै बसिरहेका छन छन् । तपाईंहरू मात्र यसरी सरसफाइको काममा जाँदा डर लाग्दैन ?
महामारीले धेरै मान्छेहरूको ज्यान लिएको समाचार टिभीमा सुनिरहेका छौँ । कोरोना लाग्ला भनेर डर त लाग्छ नि । तर फेरि काममा त जानैपर्छ । भोकले डर भन्दैन रहेछ । झन् हामी सानो मान्छे काम नगरी के खानु र ! नगरपालिकाले सुरक्षाको समाग्रीहरू दिएको छ । यसैले काममा गइरहेका छौँ ।
महानगरपालिकाले के–के सुरक्षा सामाग्री दिएको छ ?
पञ्जा त पहिले पनि दिने गर्थ्यो । लकडाउन सुरु भएसँगै महानगरले मास्क र ह्यान्ड सेनिटाइजर पनि दिएको छ ।
सुरक्षा सामाग्रीको प्रयोग गर्नुहुन्छ ?
छोरा र म मात्र काममा जान्छौं । बुहारी र नातिनी त घरमै बस्छन् । त्यसमाथि बुहारी दुईजिउकी छिन् । यी दुईको स्वास्थ्यमा केही असर नपरोस् भनेर पनि हामी काममा जानुअघि र कामबाट घर आइसकेपछि पनि सुरक्षा सामग्रीको प्रयोग गर्छौ । पञ्जा र मास्क लगाउँछौ । कामबाट आएपछि साबनुपानीले हात धुन्छौँ अनि सेनिटाइजर पनि दल्छौँ ।
महामारीको बेला सरसफाइको काम जोखिमपूर्ण हुन्छ, कमाइचाहिँ कति हुन्छ नि ?
लकडाउन नहुँदा शनिबार ओभरटाइमसमेत गरेर मासिक तलब ९ हजार हुन्थ्यो । तर अहिले लकडाउनको कारण मासिक तलब ८ हजार मात्र पाइरहेका छौं ।
विपतको बेलामा काम गर्दा तलबमा वृद्धि, थप सेवासुविधाको व्यवस्था गरिदिएको छैन ?
अफिसले हामीलाई त्यस्तो कुनै सेवासुविधाको बारेमा जानकारी गराएको छैन । तर २५ लाख बराबरको स्वास्थ्य बीमा गरीदिने भन्नेचाहिँ सुनेको हो, हो की हैन त्यो पनि थाँहा छैन ।
कोरोना जाँच गराउनु भएको छ कि छैन ?
छैन, खोई कोही जाँच्न आएका छैनन् । नगरपालिकाले पनि जँचाइदिएको छैन ।
तपाईंहरूको बस्ती साघुँरो छ । सबै जना सफाइ मजदूर हुनुहुन्छ । तपाईंजस्तै सबै मानिसहरू सबै सर्तक छैनन् होला । कोरोना फैलिएला भन्ने डर लाग्दैन ?
लाग्छ नी, हामी पनि त मान्छे हो । तर के गर्नु जिउज्यान पाल्न काम त गर्नैपर्छ । आफूहरू सर्तक बस्ने हो हो अरु त के गर्न सकिन्छ र ? बस्तीमा दवाई छिटाउन धेरैचोटि भनिसक्यौँ तर छिटीदिएका छैनन् ।
दैनिक ज्याला मजदूरी गरेरखानेहरूको लागि भनेर बाँडिएको राहत पाउँनु भयो ?
राहत पाइस् भन्दा पाएँ भनेजस्तो मात्र भयो । जम्मा १२ किलो चामल पाएका थियौं । त्यो पनि खानैनहुँने गरी बिग्रिएको थियो । राहत पाएकोमा राम्रो भनेको त्यही एक पोका नुन र तेलमात्र हो ।