पित परोपकार

dfg
रामप्रसाद पौडेल

जब कुनै समस्या, संकष्ट वा महामारी फैलिन्छ, सहयोगी हातहरू स्वतःस्फूर्त रूपमा सलबलाउन थाल्छन् । आफूलाई जति पीडा हुन्छ, त्यति नै पीडा अरुलाई पनि हुन्छ भन्ने कुरा महशुस गर्ने केही मानव मनहरू समाजमा अहिले पनि जिउँदै छन् । उनीहरूले भोलिको कुरा बिर्सिदिन्छन् र ‘आज सबै बाँच्नुपर्छ’ भन्ने कुरालाई महत्व दिएर मानवताको उत्कृष्ट नमूना पेश गर्छन् । आफूसँग भएका कुरा बोकेर मानव बचाउने अभियानमा उत्रिन्छन् । उनीहरूमा प्रचारबाजीको लोभ हुँदैन, उनीहरू स्याबासीको भोका हुँदैनन्, सेवामा स्वार्थ लुकाएका हुँदैनन् र भविष्यमा भजाउने योजनाले अरुलाई सहायता गरेको नाटक रच्दैनन् । ती महान आत्माहरूप्रति हार्दिक नमन गर्दै आजको लेख सुरु गर्न चाहन्छु ।

हामी सामाजिक सञ्जालका उपभोक्ताहरूले बिरामी भेट्न गएका ७/८ जना महामानवहरूले १ कोसा केरा दिएर फोटो खिचाएको, आधा किलो चामल दिन ५/६ जना जनप्रतिनिधि लस्कर लागेको हस्तान्तरण गरेको लगायतका तस्वीरहरू अवश्य नै हेरेका छौं होला । ती तस्वीरहरू वास्तविक वा ट्रोल, कुनै एक हुन सक्छन् । तर हाम्रो समाजमा देखिएका पित परोपकारको उच्चतम उदाहरण भने ती तस्वीरहरूले प्रष्ट पारिरहेका छन् ।

के हो त पित परोपकारः हामीले पत्रकारितामा प्रायः ‘पित’ शब्दको प्रयोग गरेको सुनेका छौं । कसैले सिद्धान्त विपरीत गएर, आफ्नो भलाईको लागि, अरुलाई अवमूल्यन गर्ने, अपमान गर्ने कुरा लेख्ने प्रकाशन/प्रशारण गर्ने कुरालाई आम मानिसले पित पत्रकारिता भनेर बुझेको हुन्छ । यस्तो पत्रकारिता गर्नेले आम मानिसको पक्षमा कुनै बिचार नगरी आफ्नो हितमा काम गरिरहेको हुन्छ । यससम्बन्धी अलग्गै लेख तयार हुन सक्छ, तर आजको विषय पित पत्रकारिता नभई पित परोपकार भएकोले छोटो प्रसंग मात्रै यहाँ उल्लेख गर्न चाहेँ ।

पित पत्रकारिता जस्तै अरुको भलाई नसोची आफूले वाहवाही पाउनका लागि गरिने छद्मभेषी समाजसेवा नै पित परोपकार हो । यसका विभिन्न पक्षहरू छन् । कोही कोही मानिस आफूले जीवनभर गरेको कूकर्मबाट मुक्त हुने लालचले जीवनको उत्तराखण्डमा केही सहायता गर्न तम्सिने गरेको देखिन्छ । उनीहरूले भोग्नुजति भोगिसकेका हुन्छन्, लुट्नुजति लुटिसकेका हुन्छन्, अरुलाई चुस्नुजति चुसिसकेका हुन्छन् । आफू अघाएपछि जब आत्माले दोष्याउन थाल्छ, अनि उनीहरूमा परोपकार भाव पैदा हुन्छ र केही दान गरेजस्तो गर्न थाल्छन् ।

तर उनीहरूको रगतमा ‘उपकार’ नामको जिवाणु नपाइने हुनाले त्यस्तो ढोंगी सेवा धेरै दिन टिक्न सक्दैन । उनीहरूले केही दिँदा, दिएको भन्दा बढी प्रचार गर्छन् । मिडियाबाजी गर्छन् । सबैलाई सुनाउँछन्, ‘यी हेर त मैले के–के गरिसकेँ !’ उनीहरूलाई चिन्ने र बुझ्नेहरूले उनीहरूको हर्कत हेरेर शिर निहुराउनुबाहेक अरु केही गर्न सक्दैनन् ।

केही पित परोपकारीहरू भावनात्मक हुन्छन् । उनीहरूमा सेवा गरेको अभिनय गर्ने सरुवा रोग लाग्दछ । सेवा गर्नेभन्दा पनि हिट हुने र हिरो बन्ने भूत सवार हुन्छ । अनि दायाँबायाँ नहेरी दान पुण्य सुरु गर्छन् । हात–हातमा भएको मोबाइल फोन घुमाउँछन्, भिडियो बनाउँछन्, सामाजिक सञ्जाल रंगाउँछन् । अनि सुरु हुन्छ हिरोगिरि ! व्यक्तिको नाम नै त लिन्नँ तर केही महिनाअघि विराटनगरमा सुरु भएर इटहरी, दमक, बिर्तामोड हुँदै देशका विभिन्न भूभागमा फैलिएको १० रुपैयाँमा खाना खुवाउने काण्ड यस्तै परोपकारको ज्वलन्त नमूना हो ।

उनीहरूले जति ख्वाए, त्योभन्दा बढी छाए । विराटनगरका महोदयले त मिडियासामु घोषणा नै गरे –“म आजीवन यसरी नै खाना खुवाउँछु ।” तिनको ‘आजीवन’ तीन महिना पनि टिक्न सकेन ।अभाव भएर होइन, नियत नै सेवा गर्ने नभएकोले अभियान सकिएर गयो । तर पत्रिकाका पानाहरूमा छापिएका तिनका समाजसेवी फोटाहरू अहिले पनि कोठाभरि मुस्कुराइरहेका होलान् । तिनको सेवालाई लालमोहोर लगाउन सेलिब्रेटीहरू ओइरिए, नेताहरू हाम्फालेर विराटनगर आए, भात पस्किए, फोटा खिचाए अनि फर्किए । नेता र कलाकार उस्तै हुन् । उनीहरूको जीवन नै अभिनयले चलेको हुन्छ । अभिनय गरे, गए । तर यहाँका श्रमिकहरू,मजदूरहरू, अनि गरिब असहायहरूको भावनालाई उनीहरूले नराम्रोसँग लात्ती भकुण्डो खेले ।

घरमा राख्ने ठाउँ नभएर मिल्काउन पर्ने अवस्थाका कपडाहरू सडकको कुनामा लगेर टाँग्ने अभियान पनि एकपटक राम्रैसँग छायो । यो अभियान तबसम्म ठीक थियो, जबसम्म अभियन्ताहरूले मिडियामा अन्तर्वार्ता दिन पाएका थिएनन् । गरिबहरूको फोटो, संसारभर फैलाउनुअघि यो अभियानलाई प्रायः धेरैले असल नै बुझेका थिए । तर जब एउटा गरिबले कसैको जडौरी कपडा लगाउन पाउँदा मुस्कुराएर फोटो खिचाउनुपर्ने अवस्था आयो, तब यो अभियानको औचित्यले तीन बल्ड्याङ खायो । म यस विषयमा के स्पष्ट पार्न चाहन्छु भने सुरुमा यससम्बन्धी दर्शन देख्नेहरूको मनमा शायद कुनै खोट थिएन होला, उनीहरूले पवित्र उद्देश्यले नै यो काम सुरु गरे होला, तर जब काम दर्शन देख्नेको हातबाट फुत्किएर अभियन्ताको हातमा पुग्यो यसको अर्गानिकपनको बलात्कार भयो । पित परोपकारमा परिणत भयो ।

सप्ताह, पुराण, मठ मन्दिर वा अन्य धार्मिक सम्प्रदायको धार्मिक स्थलहरूमा दान गरेर ढ्वाङ फुक्नेहरू मलाई सबैभन्दा बढी नौटंकी लाग्छ । त्यस्ता स्थानहरूमा शुद्ध मनले भन्दा बढी अरुलाई उछिन्ने भावले दान दिने गरिन्छ । सप्ताहको मौसममा फलानाले यति दियो उति दियो भनेर समाजै छाउनेगरी माइकमा फलाकेको हामी सबैले सुनेकै छौं होला । सच्चादाताले आफ्नो नाम त्यसरी फलाकिरहँदा छाती फुलाउँदैन बरु शिर निहुराउँछ ।

पित परोपकारको असरः गर्नेले कुनै निश्चित उद्देश्य राखेको हुन्छ । कुनै समय उसले त्यसको कटनी गर्ला । वा नगरे पनि ऊ आत्मरतिमा रमाउन पाउँछ । माथिल्लै निकायमा सम्बन्ध हुनेले यही माध्यमबाट पनि आफूलाई हिरो सावित गरेर ठूलै नियुक्ति पनि लेला । उस (कूकर्मीहरू) ले आफ्नो कु–कर्मको प्रायश्चित भएको ठहर गर्लान् ।

एक किसिमले यसले दाताहरूलाई फाइदा गरेको हुन्छ । त्यसरी नै उपभोक्ता स्तरमा पनि यसले फाइदा नै पुर्‍याएको देखिन्छ । खान नपाउनेले खान पाए, लाउन नपाउनेले लाउन पाए, बस्न नपाउनेले घर पाए, बालबालिकाले शिक्षा पाए…. सबै राम्रो नै भयो । पाडै पाए पनि पाडी पाए पनि भतुवालाई बिगौती भनेजस्तै दिने जो भएपनि जसरी दिए पनि सेवा पाउनेले पाए, राम्रो भयो । यसले जनस्तरमा ठूलै असर गर्दैन । तर यस्तो परोपकारले सामाजिक स्तरमा भने अपूरणीय क्षति गरिरहेको हुन्छ । यस्तो खालको परोपकारले सच्चा सेवकहरूको हुर्मत लिइरहेको हुन्छ । जो साँच्चै सेवा गर्ने, अरुको भलाई गर्ने र अरुलाई सहायता गर्ने कुरामा दत्तचित्तले लागिरहेका हुन्छन्, पित परोपकार गर्नेहरूले उनीहरूको सच्चा सेवाको उपहास गरिरहेका हुन्छन् ।

यस्ता समाजसेवीहरूले समाजमा सेवा गरेपछि हल्ला गर्नुपर्छ भन्ने कुराको मानक स्थापित गरिदिन्छन् र सेवा पाउनेहरू सानो कुराकै लागि आफ्नो स्वाभिमान लिलाम गर्न बाध्य पारिन्छन् । उदाहरणका लागि, एउटा बाबुले छोराछोरीलाई कुनै कारणले खान दिन सकेन । एउटा मान्छेले १ बोरा चामल दियो । छोराछोरीसहित लस्कर लगाएर फोटो खिचायो, सामाजिक सञ्जालमा पोस्ट्यायो र समाजसेवी कहलियो । त्यो चामल लिने बाबुको स्वाभिमानमा कति ठेस लाग्यो होला भन्ने कुरा दिनेले कहिल्यै सोच्न सकेन । त्यो फोटो जताततै फैलिँदा ती बालबालिकाहरूले विद्यालयमा, साथीहरूको माझमा भोग्नुपर्ने अपमानको क्षतिपूर्ति कसले गरिदेला ? ती लालाबाला हुर्केपछि आफ्नो बाल्यकालको त्यो फोटो बाबुले चामल लिएको र आफूहरू वरिपरि उभिएर हात जोडेको देख्दा उनीहरूको मनमा के बित्ला ? कसैले सोचेको पाइँदैन ।

महासंकष्टको समय छ । धेरै सहयोगी हातहरूको खाँचो छ । धेरैले सफा मनले प्रचारबाजीको लोभ नगरी सहायता गरिरहनुभएको छ । तपाईंको महानकर्मको म मुक्त कण्ठले प्रशंसा गर्दछु । तपाईंले फोटो नखिची कसैलाई सहायता गर्न सक्नुभयो भने तपाईं बिजयी हुनुहुन्छ । केही कुनै कारण फोटो खिच्नुपर्ने अवस्था छ भने पनि व्यक्तिको अनुहार नआउने गरी खिच्दा राम्रै भयो नि ! अनि कुनै पनि फोटोहरू सामाजिक सञ्जालमा अपलोड नगरी तपाईं महानकार्य गर्न सक्नुहुन्छ । मैले फोटो अपलोड गर्दा अरुलाई उत्साह हुन्छ भन्ने तर्क गर्ने धेरै परोपकारीहरूका लागि मसँग एउटा सानो सल्लाह छ । जति मान्छेलाई तपाईंको फोटोले उत्साह दिन्छ, त्योभन्दा धेरैलाई डाही बनाउँछ अनि तपाईंबाट सहयोग लिनेहरूलाई अपमानित पनि । फेरि तपाईंको उद्देश्य त अरुलाई उत्साह दिने कहाँ हो र, अरुबाट स्याबासी पाउने पो हो त ! साँचो सेवा त्यो हो, जहाँ दायाँ हातले दिएको बायाँ हातले थाहा पाउँदैन ।

अस्तु ।

Loading...