अबको बजेट कोरोना सेरोफेरोमा केन्द्रीत, प्राथमिकतामा कस्ता क्षेत्र ?

काठमाडौं, २९ बैशाख । सरकारले यस वर्षको बजेट कोरोना भाइरसको सेरोफेरोमा केन्द्रित गरेर ल्याउने तयारी गरेको छ ।

यस अघिमा तीन दशकदेखि पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर बजेट बनाउँदै आएको सरकारले यो वर्ष प्राथमिकता परिवर्तन गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले आइतबार संघीय संसद्को बैठकमा आगामी बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै बजेट मूलतः कोभिड १९ को सेरोफेरोमा केन्द्रित हुने जानकारी गराएका थिए ।

यसअघि २०७२ सालमा महाभूकम्पले तहसनहस बनाए पनि बजेटको प्राथमिकता फेरिएको थिएन । त्यति बेला पुुनर्निर्माण प्राधिकरण गठन गरेर निश्चित रकम विनियोजनमात्र गरिएको थियो ।

२०४६ सालको राजनीतिक परिवर्तनपछिका सबै सरकारले ल्याएका बजेटको पहिलो प्राथमिकता सडक, सिँचाइ, ऊर्जा, खानेपानी, भवन निर्माणलगायतको पूर्वाधार रहने गरेको थियो । त्यसैअनुसार बजेट विनियोजन हुन्थ्यो ।

अहिले भने महामारीका रुपमा फैलिएको कोभिड १९ ले अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने देखिएको छ ।

यही कारण प्रभावलाई न्यूनीकरण गरी अर्थतन्त्रको पुनरुत्थान गर्न सरकार बजेटको प्राथमिकता फेर्न बाध्य भएको हो ।

खतिवडाले मुलुकमा सञ्चालनमा रहेका ठूला परियोजनालाई पर्याप्त रकम दिने तर अति आवश्यक नभई नयाँ योजना बजेटमा समावेश नगर्ने बताए ।

संघ, प्रदेश र स्थानीयतहको सहलगानीमा स्वास्थ्य पूर्वाधार र जनशक्तिको विकास एवं स्वास्थ्य बिमाका कार्यक्रम ल्याउने मन्त्री खतिवडाले संकेत गरे ।

Loading...