फुटबलका नयाँ नियमहरू : हात मिलाउन नपाइने, मैदानमा थुकेमा पहेँलो कार्ड

एजेन्सी, २८ वैशाख । कोभिड–१९ को विश्वव्यापी संक्रमणसँगै स्थगित भएका फुटबल गतिविधिहरू पुनः सुरु हुने भएका छन् ।

दक्षिण कोरीयाली के लिगका बाँकी खेलहरू सुरु भइसक्यो भने १६ मेबाट जर्मन बुन्डेसलिगा पनि सुरु हुने पक्का भएको छ ।

यीबाहेक विश्वका अन्य फुटबल प्रतियोगिताहरू पनि क्रमिक रूपमा सुरु हुने तयारीमा छन् ।

महामारीकै बीच सुरु गर्न लागेका प्रतियोगिताहरूमा केही नयाँ नियमहरू भने थप गरिएका छन् ।

खेलाडी, प्रशिक्षक र अफिसियलहरूको स्वास्थ्य सुरक्षाका निम्ति र कोरोना रोकथामका लागि लागू गरिने नयाँ नियमहरू यस्ता छन्ः

  • खेलका दौरान पाँच खेलाडीहरू परिवर्तन गर्न पाइने नयाँ नियम लागू भएको छ । यसका साथै एउटा टिमको खेलाडीहरूको संख्या बढाएर २३ पु¥याइएको छ ।
  • खेलका दौरान मैदान थुक्न नपाइने भएको छ । यदि कुनै खेलाडीले मैदानमा थुकेमा पहेँलो कार्ड दिइनेछ ।
  • मध्यान्तरमा खेलाडीहरूले आफूले लगाइरहेको जर्सी अनिवार्य परिवर्तन गर्नुपर्ने छ ।
  • खेल्ने दुई टिमहरू मैदानमा सँगै प्रवेश गर्न पाउने छैनन् ।
  • गोल गरेको खुशियालीमा कुनै पनि खेलाडीले गोल गर्ने खेलाडी वा अन्य खेलाडीलाई गोल गर्ने खेलाडीले छुन पाउने छैनन् ।
  • खेल सुरु हुन अगावै दुवै टिमका खेलाडी, रेफ्रि र लाइन्स म्यानहरूले गर्ने गरेको हात मिलाउने चलन पनि कोरोना महामारीभरि गरिने छैन ।
  • बेन्चमा रहने खेलाडीहरूले अनिवार्य मास्कको प्रयोग गर्नु पर्नेछ ।
  • फिफाले निर्णय गर्दै महामारीका बीच खेलाइने खेलहरूमा भिडियो एसिस्टेन्ट रेफ्रि (भीएआर) को प्रयोगलाई अनिवार्य नगरिने भएको छ । तर, स्पेनिस लिग ला लिगाले भने यसलाई अनिवार्य प्रयोग गर्ने जनाइसकेको छ ।
  • रंगशाला प्रवेश गर्नुअघि सम्पूर्ण मानिसहरूको शरीरको तापक्रम नापिने छ ।

यद्यपि, यी सबै नियम विश्वभरिका फुटबल लिगहरूमा लागू भने नहुने जनाइएको छ ।

Loading...