धादिङ, २८ वैशाख । उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–५ फुलखर्क दाङसिङमा खुकुरी प्रहार गरी निजी विद्यालयका प्रधानाध्याकको हत्या भएको छ ।
शनिबार खुकुरी प्रहार गरी गङ्गा–जमुना एकेडेमीका प्रधानाध्यापक ३० वर्षीय यमबहादुर गुरुङको हत्या भएको हो ।
उनको हत्या आरोपमा प्रहरीले छिमेकी ३१ वर्षीय भीमसेन बुढाथोकीलाई आइबातर पक्राउ गरेको छ ।
विद्यालय बिदा भएकाले गुरुङ घरमै थिए ।
शनिबार भारी बोकेर घरबाट मिलमा जान लागेको बेला उनलाई बुढाथोकीले खुकुरी प्रहार गरेका थिए ।
बुढाथोकीको प्रहारले गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि धादिङबेँसी लाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानाकारी दिए ।
आरोपित बुढाथोकी प्रहरीको हिरासतमा छन् ।
उनलाई कर्तव्य ज्यान मुद्दा लगाइएको छ भने शव परीक्षणका लागि जिल्ला अस्पताल धादिङमा राखिएको छ । रासस