लकडाउनमा घरघरमै ताजा तरकारी र फलफूल

आशिका लम्साल

विराटनगर (कञ्चनबारी) , २८ वैशाख

‘ए शब्जी लिनुहोस् है हजुर शब्जी’

‘आयो है आयो तपाईंको घरमै हरिद्वारको ताजा मुँग्री माछा आयो’

‘ए कागती लिनुहोस् है कागती, खरबुजा लिनुहोस् है गुलियो खरबुजा’

आजकल विराटनगर महानगरपालिकामा बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म घरघर पुगेर तजा हरियो तरकारी, माछा र फलफूल बिक्री गर्नेहरू बढेका छन् ।

लकडाउनले गर्दा महानगरमा ठाउँ ठाउँमा लाग्ने गुद्री बजार बन्द भएकोले खुद्रा व्यापारीहरूले साइकल, रिक्सा, ठेला र सिटी रिक्सामा राखेर घरघरमा पुगेर तरकारी, माछा र फलफूल बिक्री गर्ने गरेका हुन् ।

कतै एक जनाले कतै श्रीमान्-श्रीमती अनि कतै छोराछोरी मिलेर ठेला कुदाउँदै घरघरमा तरकारी बिक्री गर्ने गरेका छन् ।

विराटनगर महानगरपालिकामा करिब ५० हजार घरधुरीमा २ लाख ५० हजार मानिस बसोवास गर्दै आएका छन् । तरकारी र फलफूल बिक्री गर्नेहरू प्राय सबै टोलका घरघरमा चिच्याउँदै पुग्ने गरेका छन्।

यहाँ लकडाउने गर्दा केही दिन बजार बन्द भएपछि अलमलमा परेका विराटनगरबासीहरू आजकल घरघरमै ताजा तरकारी, फलफूल र माछा किन्न पाउन थालेपछि दङ्ग छन् ।

उनीहरूलाई लकडाउनमा कोरोना संक्रमणको जोखिम मोल्दै बजारसम्म झोला बोकेर जानुपर्ने बाध्यता हटेको छ ।अर्कोतिर लकडाउनका बेला ताजा तरकारी र फलफूल किनेर खान नपाइएला कि भन्ने शंका पनि हटेको छ ।

विराटनगर ३ ठूलोमिलकी कमला शर्मा भन्छिन्, ‘लकडाउनले तरकारी किनमेल गर्न झन् सजिलो भएको छ खुलेपछि पनि यसैगरी घरघरमा आइदिए हुनेथियो ।’

सिटीरिक्सा चलाउनेहरू पनि घरघरमा

विराटनगर महानगरमा खुद्रा तरकारी बिक्री गर्दै आएकाहरू मात्र हैन सिटीरिक्सा चलाउने र जनमजदूरी गर्नेहरू पनि घरघर पुगेर तकारी र फलफूल बिक्री गर्न थालेका छन् ।

उनीहरू एकाबिहानै विराटनगरको कटहरीस्थित कृषिथोक बजारमा पुगेर तरकारी खरिद गर्छन् र दिनभरि घरघर पुगेर बिक्री गर्छन् ।

लकडाउनले यातायात व्यवसाय ठप्प भएकोले सिटीरिक्सा चालकहरूले सिटीरिक्सा कुदाएर घरघर पुगेर फलफूल र तरकारी बिक्री गर्ने गरेको व्यापारी राजुपासवानले बताए ।

विराटनगर महानगरमा जम्मा १९ वडा छन् । लकडाउनपछि प्रायः सबै वडामा दैनिक एक सयभन्दा बढी खुद्रा व्यापारीहरू ताजा तरकारी फलफूल र माछा बिक्री गर्न घरघर पुग्ने गरेका छन् ।

यसरी घरघर पुगेर उनीहरूले दैनिक सहजै ५ सयदेखि एक हजार रुपैयाँसम्म एक जनाले आम्दानी गरिरहेका छन् ।

लकडाउनमा होमडेलिभरी सेवा बढ्दो

कोरोना भाइरस संक्रमण रोकथामका लागि भैरहेको लकडाउनले गर्दा प्रदेश १ को धरान र विराटनगर जस्ता सहरमा होमडेलिभरि सेवा बढ्न थालेको छ ।

यहाँका विभिन्न मल र अनलाइन कम्पनीहरूले उपभोग्य मात्र नभएर आवश्यक वस्तुहरू होमडेलिभरि गरिदिन थालेका छन् ।

विराटनगरको हाटखोलास्थित आरके सुपर मार्केटले लकडाउन सुरु भएकै दिनदेखि होमडेलिभरि सेवा दिँदै आएको छ । यस्तै विराटनगरमा रहेको भाटभटेनी सुपर मार्केट सेन्ट्रल मलले पनि अर्डरअनुसारको होमडेलिभरी सेवा सञ्चालन गरिरहेका छन् ।

यसबाहेक विराटनगरमा विभिन्न डेलिभरी कम्पनीहरू पनि सेवामा सक्रिय छन् । लकडाउनको समयमा बजार बन्द हुँदा किनमेल गर्न पनि समस्या हुने गर्छ ।

यसैले दैनिक उपभोग्य खाद्यान्नहरू दालचामल, तेल, तरकारी, फलफूल र माछामासुको अभाव हुन नदिन ईन्जिनियर युवाहरूको समूहले धरान र विराटनगरमा गुद्री अनलाइन सुपरमार्केट कम्पनी सञ्चालन गरेर निःशुल्क होम डेलिभरि सेवा दिइरहेका छन् ।

Loading...