न्युयोर्क, २७ वैशाख । अमेरिकामा गत अप्रिल महिनामा १४.७ प्रतिशत बेरोजगार बनेका छन् ।
कोरोना भाइरसको महामारीका कारण उद्योग व्यापारबन्द भएकाले बेरोजगारी बढेको हो ।
अमेरिकामा यसअघि १०.४ प्रतिशत बेरोजगारी दर रहेकोमा बढेर १४.७ प्रतिशत पुगेको तथ्यांकले देखाएको छ । यो बृद्धिदर सन् १९४८ पछिकै सवैभन्दा धेरै हो ।
अमेरिकामा अप्रिल महिनामा मात्रै झण्डै २ करोड नागरिकले रोजगारी गुमाएका छन् । गत मार्च महिनामा ७ लाख १० हजार मानिसले रोजगारी गुमाएका थिए।
कोरोना भाइरसको कारण अहिले करिब ३१ करोड अमेरिकी घरमै बसेका छन् ।
हालै सार्वजनिक भएको एक प्रतिवेदनमा हरेक मुख्य क्षेत्रमा धेरै मानिसको रोजगारी कटौती भएको छ ।
अधिकारीहरुका अनुसार अमेरिकामा पहिलो पटक सवैभन्दा धेरै मानिसले बेरोजगारी भत्ताका लागि फाराम भरेका छन् । पछिल्लो विवरणमा ३ करोड ३० लाख नागरिकले बेरोजगारी भत्ताको माग गरेका छन् ।
बेरोजगारको संख्या बढ्दै जाने र उद्योग व्यापार बन्द हुदै जाने गरेकाले अमेरिकी सरकारले विभिन्न राहतका व्याकेजहरु पनि घोषणा गरेको छ ।