काठमाडौं, २७ बैशाख । नेपालमा कोरोना संक्रमण देखिएका १ सय ९ जनामध्ये सबैभन्दा बढी प्रदेश नम्बर १ मा रहेका छन् ।
शनिबारसम्म संक्रमितको संख्या १ सय ९ पुग्दा प्रदेश नम्बर १ मा ३४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै सबैभन्दा कम गण्डकी प्रदेशमा दुई जना संक्रमित भेटिएका छन् । प्रदेश नम्बर २ मा ३१ र प्रदेश नम्बर ५ मा ३० जनामा संक्रममित हालसम्म फेला परेका छन् ।
बागमती प्रदेशमा ७, सुदूरपश्चिम प्रदेशमा ५ र गण्डकी प्रदेशमा २ जनामा संक्रमण देखिएको छ ।
अहिलेसम्म ३१ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
हिजोमात्रै कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत महिला ३५ दिनपछि डिस्चार्ज भएकी छन् । प्रदेश नम्बर १ र प्रदेश नम्बर ५ का बढी प्रभावित जिल्लाहरुमा नमुना संकलन र परीक्षणको काम तीव्र पारिएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ७ सय ४१ वटा परीक्षण भएका छन् । अहिलेसम्म पिसिआर विधिबाट १६ हजार ३ सय ९ र आरडिटी विधिबाट ५५ हजार ९ सय ३० जनाको कोरोना परीक्षण भएको छ ।
प्रदेश नम्बर १ मा ७ हजार ५५, प्रदेश नम्बर २ मा ५ हजार ८ सय ९० र बागमती प्रदेशमा मा ९ हजार १ सय ५ जनाको आरडिटी परीक्षण भएको छ ।
यस्तै गण्डकी प्रदेशमा ६ हजार ३ सय ७७, प्रदेश नम्बर ५ मा ६ हजार ६ सय ३८, कर्णाली प्रदेशमा ६ हजार १ सय ७४ र सूदुरपश्चिममा १४ हजार ६ सय ९१ आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताए ।