birat ribon

नेपालको परिस्थिति अनि यहाँको स्वास्थ्य नीति

Neuro
नेपालको परिस्थिति अनि यहाँको स्वास्थ्य नीति
मुकेश पौडेल
जनस्वास्थ्यकर्मी

नेपाल कोरोना संक्रमको दोस्रो चरणबाट गुजरीरहेको छ र तेस्रो चरण प्रवेश गरेको हो या होइन भन्ने अझै छुट्टिन नसकेको अवस्था छ । एकै घरको १७ संक्रमित भएसँगै तेस्रो चरण हो या होइन भन्ने दुभिदा उत्पन्न भएको हो ।

cura insider

लकडाउन भएको ४५ दिन नाघिसकेको छ, संक्रमितको संख्या १०० नाघिसकेको छ । समुदायमा अझै कति संक्रमित होलान त्यसको यकीन गर्न पीसीआर जाँच पश्चात मात्र भन्न सकिन्छ। नेपालको स्वास्थ्य स्थिति के हुने हो ? र यसले कस्तो असर पार्ला ? भन्ने यी प्रश्नको उत्तर उत्तिकै जटिल छन् ।

पछिल्लो समयमा संक्रमितको संख्या बढ्दो छ । यसको न्यूनीकरण, रोकथाम तथा उपचारमा सरकारले काम गरिरहेको पाइन्छ तर के मा अलमलिरहेको छ वा चुकिरहेको छ, यसबारे थुप्रै टीका टिप्पणीहरू देख्न र सुन्न सकिन्छ । सरकारले समयमै लकडाउन गर्‍यो , जनताहरूले त्यसको समर्थन गरे र केही हदसम्म संक्रमण फैलन रोकियो । तर त्यसपछिका कदमहरूमा सरकार राम्रोसँग अघि बढ्न नसकेको हो भन्दा फरक नपर्ला । लकडाउन मात्रै यसको उपाय नभएर सँगसँगै जाँच पनि पर्दछ। आज यतिका दिनसम्म आइपुग्दा पर्याप्त मात्रामा जाँच हुन सकिरहेको छैन । यसका आधारमा पनि सरकार के मा अलमलिएको छ भनेर प्रश्न गर्नु जायज नै हुन्छ ।

यी कुराहरू भनिरहँदा सरकारले कामनै नगरेको भनेर भन्नचाहिँ पक्कै मिल्दैन । जाँच गर्ने स्थानहरूको संख्यामा वृद्धि गरेको छ, स्वास्थ्यकर्मीहरूलाई परिचालित गरेको छ, कन्टयाक्ट ट्रेसिङ गर्ने कार्यहरू अगाडि बढाइरहेको कदमहरू प्रशंसायोग्य रहेका छन्, तर यति कदमहरू चालेर अगाडि बढिरहँदा पनि यस अवस्थाविरुद्धको लडाईंमा पर्याप्त कामहरू गर्न सकिरहेको छैन । जाँच गर्ने स्थानहरू के भौगलिक हिसाबले पायक पर्ने स्थानमा छन त ? जाँच गर्ने स्थानमा काम गर्ने स्वास्थ्यकर्मीहरू प्राविधिक रूपले जानकार तथा दक्ष छन् त ? जाँच गर्ने किटहरू पर्याप्त मात्रामा उपलब्ध छन् त ? पक्कै पनि यी प्रश्नहरूको उत्तर हामीमाझ छर्लङ्ग छ ।

केन्द्रीय सरकार लकडाउनको घोषणा गर्दै आवत-जावतमा रोक लगाउँछ तर स्थानीय जनप्रतिनिधिहरूआफ्नो ठाउँका नागरिक लिन पठाउँछन् । उक्त कदमले सरकारकै यी निकायहरूबीच उचित सहकार्य र समन्वय नभएको देख्न सकिन्छ ।

पछिल्लो दिनहरूमा स्वास्थ्य संस्थाहरूमा पर्याप्त मात्रामा जाँच गर्ने किटहरू नभएर जाँचलाई अघि बढाउन नसकिने अवस्थाहरू आइरहेका छन् भने देशका विभिन्न स्थानहरूमा रहेका क्वारेन्टाइनमा समेत जाँच किटको अभावले जाँच हुन सकिरहेको छैन । यस अवस्थामा संक्रमण फैलिरहेको स्थान र जोखिममा रहेका मानिसहरूको जाँच सोचेअनुरूप हुन नसकिरहेको अवस्था छ ।

यस अवस्थामा भने घरमै स्वयम् क्वारेन्टाइनमा बसिररहेका माननीय मन्त्री तथा नेताज्यूहरूको परीक्षण गर्न किटहरूको प्रयोग भएको खबरले सरकारको स्वास्थ्य नीति र कोरोनाविरुद्धको लडाईंको रणनीतिमाथि ठूलो प्रश्न उठेको छ।

सरकारले आफैं भनिरहेको छ कि हामीसँग पर्याप्त किट छैन र खरिद प्रक्रिया अघि बढिरहेको छ। यस अवस्थामा नेता तथा मन्त्रीज्यूहरूको परीक्षण गर्न प्रयोग भएको किट पक्कै पनि जोखिममा रहेका स्थानहरूमा प्रयोग गर्न सकिन्थो होला । सँगसँगै खरिद प्रक्रियामा सरकार आफैँ आलोचित भइसकेको छ । खरिद जिम्मा निजी कम्पनीलाई दिँदा र सरकार आफैँले खरिद गर्दासमेत यतिका दिनसम्म पनि सामान नआइपुगेको अवस्थामा सरकार कहाँ अलमलिरहेको छ भन्ने प्रश्न जायज नै हुन जान्छ ।

नेपालका निजी अस्पतालहरू सरकारसँग समन्वय गर्न गुहारिरहेका छन्, तर त्यस विषयप्रति पनि सरकार गम्भीर रूपमा प्रस्तुत नभएको देख्न सकिन्छ ।

अहिले स्वास्थ्यका चलिरहेका कार्यक्रमहरू खोप, ओपीडी तथा अन्य सेवाहरूसमेत प्रभावित भएका छन् । यस अवस्थामा सरकारको प्रष्ट स्वास्थ्य नीति हुन जरुरी छ भने सरकारको उचित सहकार्य र समन्वय गर्दै अगाडि बढ्न जरुरी देखिन्छ।

jackson ribon