birat ribon

स्वास्थ्यकर्मीलाई जोखिम भत्तामा विभेद

Neuro
स्वास्थ्यकर्मीलाई जोखिम भत्तामा विभेद
डा. तुलसी महतो

सुरुमा मन्त्रालयले भन्यो, स्वास्थ्यकर्मीलाई यो विशेष अवस्थामा उच्च मनोबलले काम गर्न प्रोत्साहन भत्ताको ब्यवस्था गरिनेछ । त्यसैले काममा आउनुहोस् र निर्धक्क भएर काम गर्नुहोस् । त्यसपछि लकडाउन भयो । अधिकांश सरकारी कार्यालय बन्द भए र त्यहाँका कर्मचारीलाई सरकारले सार्वजनिक बिदासरह तलब सुबिधा दिने निर्णय गर्‍यो । त्यसपछि आयो स्वास्थ्यकर्मीलाई दिने भनेको जोखिम भत्तासम्बन्धी निर्देशिका । तर यो यसरी विभेदपूर्ण छ जसको बिस्तृत विवरण यो लेखमा लेखिएको छ ।

फिबर क्लिनिक र आइसोलेसनमा खटिने स्वास्थ्यकर्मीलाई १०० % भत्ता भनिएको छ । अब हेरौं कतिपय अस्पतालमा अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीमध्ये ४-५ जनालाई अन्य काम नगराइ फिबर क्लिनिकमा मात्र राखिएको छ भने कतिपय अस्पतालहरूमा सम्पूर्ण स्वास्थ्यकर्मीलाई रोटा बेसिसमा फिबर क्लिनिकमा खटाइएको छ । यसरी हेर्दा कतिपय स्वास्थ्यकर्मी प्रत्येक दिन फिबर क्लिनिकमा काम गरिरहेका छन् र त्यो स्वास्थ्य संस्थाका अन्य जनशक्तिले अन्य सेवा प्रवाह गरेका छन् भने कति अस्पतालका स्वास्थ्यकर्मी महिनामा १ दिन फिबर क्लिनिक बसेका छन् । यो हेर्दा दिनदिनै फिबर क्लिनिक हेर्ने र महिनामा १ दिन फिबर क्लिनिक बस्ने स्वास्थ्यकर्मीलाई उस्तै सुबिधा देखिन्छ ।

cura insider

त्यस्तै लकडाउन देखि अधिकांश अस्पतालका ओपीडी सेवा बन्द छन् । तर प्रसूति सेवा र आकस्मिक सेवा अवरुद्ध छैन । अन्य कर्मचारीले सार्वजनिक बिदा पाएको अवस्थामा अहोरात्र खटेर विना पीपीई प्रसूति र आकस्मिक सेवा दिइरहेका चिकित्सक र अन्य स्वास्थ्यकर्मीले केही नपाउने यो अन्याय भएन र ? साथै धेरै चिकित्सक भएको ठाउँहरूमा चिकित्सकको हप्तामा १ दिन ड्युटी आउने गर्दछ । थोरै चिकित्सक भएको ठाउँक चिकित्सक प्रत्येक दिन खटिएका छन् । यसरी महिनामा ४ दिन काम गर्ने र १ दिन सम्पूर्ण सुरक्षा अपनाई फिबर क्लिनिकमा बस्नेले १००% भत्ता पाउने तर विना सुरक्षा दिनरात प्रसूति सेवा दिने गाइनेकोलोजिस्ट, मिडवाइफ, अप्रेसन गराउने एनेस्थेसियोलोजिस्ट र ओटीका स्वास्थ्यकर्मी, आईसीयूमा काम गर्ने चिकित्सक र नर्सले केही नपाउने कहाँको न्याय हो ?

अर्को पाटो… फिबर क्लिनिक दिनमा ४-५ घण्टामात्रै खुल्छ । अन्य समयमा आएका बिरामीलाई त इमर्जेन्सीका स्वास्थ्यकर्मीले हेर्ने गर्छन् । उनीहरूलाई पनि निर्देशिकाअनुसार थप सुबिधा छैन । यो विभेदीकरण भएन ?

इमर्जेन्सी अप्रेसन गर्नुपर्ने अवस्थामा ओटीका चिकित्सक र अन्य स्वास्थ्यकर्मी, आईसीयू र अन्य वार्डमा काम गर्ने जनशक्तिलाई के केही जोखिम छैन ? खोप एवं अन्य आवश्यक स्वास्थ्य सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मीलाई केही जोखिम छैन ?

दिल्लीमा स्वास्थ्यकर्मीमा भएको संक्रमणको अध्ययन गर्दा संक्रमित ९५% स्वास्थ्यकर्मी कोरोनाबाहेकका बिरामीको उपचारमा संलग्न थिए । कोरोना हो भनेर थाहा भैसकेको बिरामीको उपचार गर्दा सबै सुरक्षा अपनाइन्छ तर थाहा नहुँदै अन्य उपचार गर्ने स्वास्थ्यकर्मीलाई सुरक्षा केही हुँदैन ।

गर्नुपर्ने के हो ?

सरकारले नै सबै नागरिकलाई घर बस्नुस् भनेको बेला जोखिम मोलेर भए पनि काममा आउने सम्पूर्ण स्वास्थ्यकर्मीलाई प्रोत्साहन एवं जोखिम भत्ता दिनुपर्ने हो । रोगको लक्षण नभएका बिरामीबाट पनि अरुलाई सर्न सक्ने यो रोगको जोखिम सम्पूर्ण स्वास्थ्यकर्मीलाई बराबर छ ।

स्वास्थ्यकर्मीलाई सरुवा रोगको जोखिम सधै नै हुने गर्छ । त्यसैले कोरोनाको कारण जोखिम भत्ता दिनुभन्दा सम्पूर्ण स्वास्थ्यकर्मीलाई तो विषम परिस्थितिमा काम गर्न प्रोत्साहनको लागि प्रोत्साहन भत्ता दिनुपर्छ । स्वासप्रश्वाससम्बन्धी Invasive procedures जस्तै Intubation, Extubation, Bronchoalveolar lavage, Obtaining naso or oropharyngeal swab, endotracheal suctioning गर्ने स्वास्थ्यकर्मी सबैभन्दा जोखिममा हुने भएकोले उनीहरूलाई नेपाल मेडिकल काउन्सिलले Category I PPE प्रयोग गर्न भनेको छ । बरु थप सुबिधा दिने भए उहाँहरूलाई चाहिँ जोखिम भत्ता दिनुपर्दछ ।

(डा. महतो कोशी अस्पताल विराटनगरमा कार्यरत स्त्री रोग विशेषज्ञ हुन् )

jackson ribon