birat ribon

वैज्ञानिकलाई छक्क पार्दै कोरोना भाइरस

Neuro
वैज्ञानिकलाई छक्क पार्दै कोरोना भाइरस

विराटनगर, २७ बैशाख । विश्वव्यापी महामारी बनेर फैलिएको कोरोना भाइरसले पटक पटक वैज्ञानिकहरूलाई छक्क पार्दै आएको छ ।

cura insider

कोरोनाको विषयमा दैनिक केहि न केहि अध्ययन भइरहेको छ । हाल अमेरिका तथा बेलायतका वैज्ञानिकहरूले कोरोना भाइरसमा सयौं म्यूटेशन अर्थात् परिवर्तन देखिएको पत्ता लगाएका छन् । तर, यी परिवर्तनबाट हुने विकृतिले कोरोना भाइरसले मानिसमा गर्ने प्रभाव तथा खोप निर्माणमा कस्तो प्रभाव पर्छ भन्ने स्पष्ट भने छैन ।

अमेरिकामा गरिएको एउटा प्रारम्भिक अध्ययनले अहिले भएको उत्परिवर्तन प्रमुख रहेको र यसले रोगलाई अझ सङ्क्रामक बनाउन सक्ने सङ्केत गरेको छ ।

न्यू मेक्सिकोस्थित लस एलमो राष्ट्रिय प्रयोगशालामा कोरोना भाइरसको सतहमा हुने स्पाईक प्रोटीनमा गरेको अध्ययन वैज्ञानिकबाट समीक्षा हुन तथा जर्नलमा प्रकाशित हुन बाँकी छ ।

वैज्ञानिकहरूले हाल भएको उत्परिवर्तनका कारण कोरोना भाइरस चाँडै फैलिएको हुन सक्ने बताएका छन् । तर, परिणाम अझै स्पष्ट छैन ।

अनुसन्धानकर्ताहरूको टोलीले यूकेको शेफील्डमा बिरामीबाट सङ्कलित डेटाको विश्लेषण गर्दा उत्परिवर्तन भएको कोरोना भाइरस पाइएको मानिस धेरै बिरामी भएको वा लामो समय अस्पताल बस्नुपरेको प्रमाण भेटिएन ।

यूनिभर्सिटी कलेज लन्डनले गरेको अर्को अध्ययनले कोरोना भाइरसमा १९८ वटा उत्परिवर्तन भएको पत्ता लगायो । अध्ययनमा सहभागी वैज्ञानिक प्राध्यापक फ्रान्स्वाँ बलोका अनुसार भाइरसको उत्परिवर्तन आफैँमा नराम्रो कुरा हैन ।

सार्स कोभ २ मा छिटो वा ढिलो उत्परिवर्तन भइरहेको सङ्केत गर्ने कुनै आधार नभएको हुदा भाइरस धेरै वा थोरै घातक तथा सङ्क्रामक हुँदैछ भन्ने स्थितिमा नरहेको उनी बताउछन् । यूनिभर्सिटी अफ ग्लास्गोमा गरिएको अध्ययनमा उत्परिवर्तनहरूका कारण कोरोनाबाट नयाँ किसिमका भाइरस नबनेको निष्कर्ष छ ।

भाइरसमा हुने ससाना परिवर्तनको जानकारी खोप विकासका लागि महत्त्वपूर्ण हुन्छ । अहिले निर्माणको चरणमा भएका अधिकांश कोभिड– १९ खोपहरूले कोरोनाभाइरसको स्पाईकलाई लक्षित गरेर बनाइदै छ ।

तर, स्पाईकमा परिवर्तन भइरहे अहिले बनाउन लागिएको खोप प्रभावकारी नहुने देखिन्छ । तर, भाइरसमा भइरहेको परिवर्तनको विषयमा पर्याप्त जानकारी अहिले उपलब्ध छैन ।

jackson ribon