Rumpum Advertisement

उद्योग सञ्चालन गर्न अलमलमा उद्योगीहरू

Neuro Revised Adv
Koshi Dashain ad
उद्योग सञ्चालन गर्न अलमलमा उद्योगीहरू

सविन घिमिरे
विराटनगर, २६ वैशाख । कोरोना भाइरस संक्रमण रोकथामका लागि भइरहेको लकडाउन सरकारले २६ वैसाखदेखी खुकुलो बनाउने घोषणा गरेको छ । घोषणाअनुसार अब उद्योगहरू सर्तकता अपनाएर सञ्चालन हुन पाउनेछन् । तर सरकारले पर्याप्त गृहकार्यविनै उद्योग सञ्चालन गर्ने घोषणा गरेर उद्योगीहरूलाई झन अलमल पारको छ । लामो कलडाउनपछि सरकारले उद्योगहरू सञ्चालन गर्न पाउने कत्तिको प्रभावकारी छ भनेर विराटनगरका उद्योगीहरूसँग कोशी अनलाइनले सोधेको प्रश्नमा उद्योगीहरू यस्तो बताउँछन्ः

घोषणाले उद्योगी दोधारमा पर्‍यौँ – भीम घिमिरे, अध्यक्ष, उद्योग संगठन मोरङ

सरकारले विभिन्न शीर्षकका क्षेत्र सञ्चालन गर्न सकिने घोषणा गरेको छ । तर कसरी सचालन गर्ने भन्ने निर्देशिका नआएकोले उद्योगी निराश भएका छन् । सरकारले प्रत्येक दिनको उद्योगको अवस्था अध्ययन गरेर प्रतिदिनअनुसारको योजना बनाएर निष्कर्ष निकाली घोषणासँगै कार्यविधि प्रस्तुत गर्नुपर्ने पर्ने हो । तर हाल विभिन्न उद्योग सञ्चालन गर्न पाउने भनेर गरेको घोषणाले उद्योगी झन् दोधारमा परेका छन् ।

उद्योग सञ्चालन गर्नको लागि धेरै आन्तरिक तथा बाह्य कुराहरू छन् जसले गर्दा उद्योग सञ्चालनमा प्रभाव पार्दछ । बजार नखुलेपछि उध्योगले सामान उत्पादन गरेर मात्र अर्थहीन हुन्छ । नेपालको सन्दर्भमा लकडाउन ठीक हो तर सधैँ लकडाउनमै बसिरहँदा देशले आर्थिक क्षमता धान्न सक्दैन । त्यसैले कर्मचारी तथा कामदारलाई सुरक्षित र सहज ढङले चलायमान कसरी बनाउने भनेर योजना तयार हुन पर्दछ ।

उद्योगमा उत्पादित सामानलाई वितरण हुनसक्ने वातावरण बनाइनुपर्छ । सामान ढुवानी, कच्चा पदार्थ निर्यात आयात गर्नेजस्ता उद्योग सञ्चालनका आवश्यकता हुन् । यस्ता अन्य विभिन्न योजनाको गृहकार्यविना उद्योग सञ्चालन सम्भव छैन । यस कुरामा सरकारको गृहकार्य नपुगेको अनुभव गरेका छौँ । उद्योगीले विभिन्न दवाव दिइरहेको अवस्थामा यो घोषणा उद्योगीलाई अलमलाउने प्रयास जस्तो मात्र देखियो ।

कार्यविधि र निर्देशिका नआउँदा अलमलिएका छौ – नवीन रिजाल, प्रोपोराइटर रिजालको पोलिटेक इण्डष्ट्रिज प्रालि

सरकारको निर्णयले केही उद्योग सञ्चालन आउने भने पनि यसको कार्यविधि तथा निर्देशिका न आउँदा हामी अलमल्लमा परेका छौँ । सरकारले यस कार्यमा गृहकार्य नगरेको जस्तो देखिन्छ । उद्योग सञ्चालन गर्नु मात्र ठूलो कुरा होइन तर उत्पादित सामानलाई कसरी बजारमा पुर्‍याउने भन्ने अर्को चुनौती छ । यातायात ठप्प हुँदा सामान ढुवानीमा समस्या हुन्छ । उद्योगलाई चाहिने कच्चा पदार्थ निर्यात गर्न सहज हुने संयन्त्र विकास हुन जरुरी छ ।

कोरोनाको बीचमा पनि उद्योग सञ्चालन गर्न गहन अध्ययन गरेर सोहीअनुरुप परिधि तयार गर्न सकिन्छ । सबैभन्दा पहिला तहगत रूपमा प्राथमिकताको आधारमा कोरोना परीक्षण गरिनुपर्दछ । जाँचको तीव्रतालाई बढाइनु पर्दछ जसको कारणले संक्रमणको जोकिमको मुल्यांकन गर्न सहज पुर्‍याउन सक्दछ । अबको दिनमा अन्य क्षेत्रमा टार्गेट दिइएजस्तै विकास बजेटको पनि तार्गेट गरिनुपर्दछ ।

कोरोनाको समयमा पटकपटक विवादमा मुछिनु सरकारको कमजोरी हो । नीतिगत भ्रष्टचार मौलाइरहेको अवस्थामा उद्योगलाई पनि असर परेको छ । सरकारसँग हामीजस्ता उद्योगीले धेरै विश्वास गरेको थियौँ तर सरकारको कार्यविधिले निराश बनाएको छ । हामीले तिरेको करको सही सदुपयोग हुन नसक्नु हाम्रो लागि विडम्बना हो ।

कार्यान्वनयका लागि गृहकार्य आवश्यक छ – प्रकाश मुन्दडा, अध्यक्ष, मोरङ व्यापार संघ

केही उद्योग सञ्चालन गर्न दिने भन्ने सरकारको निर्णय स्वागतयोग्य छ । तर पनि यसलाई कार्यान्वयन गर्नको लागि धेरै गृहकार्यको आवश्यकता छ । मन्त्रिपरिषद्ले उद्योग सञ्चालन गर्न पाउने निर्णय गरे पनि के कस्तो मापदण्ड अनुनय गरेर सञ्चालन गर्ने भन्ने निर्देशिका जारी नगरेको हुनाले हामी अन्यौलमा छौँ ।

केही दिनमा यो निर्देशिका आउँछ भन्ने हामीले आशा गरेका छौँ । पहिलेकै जस्तो सामान्य तरिकाले उद्योग सञ्चालन हुन हामीलाई अझै केही समय लाग्छ । व्यक्तिगत दूरी कायम गरेर कामदार समेत सुरक्षित रहेर कसरी उद्योग सञ्चालन गर्नु उद्योगको लागि चुनौती हो तर पनि समय तालिका तथा विभिन्न योजना बनाएर उद्योग सञ्चालन हुनु पनि आवश्यकता हो ।

खाद्यान्न, ग्यासजस्ता अति आवश्यक वस्तु उत्पादन गर्ने उद्योगलाई पहिलो प्राथमिकता राखेर अन्य उद्योग तथा बजार पनि विस्तारै सञ्चालन हुनुपर्छ । यस कार्यमा सरकारले असामान्य गृहकार्य गर्नुपर्दछ । सङ्क्रमणको परीक्षण दर बढाउनु पर्दछ । छिटोभन्दा छिटो उच्च दरमा सङ्क्रमण जाँचलाई बढाइ सङ्क्रमणको जोखिमलाई मूल्यांकन गर्न सकिन्छ । सीमाको कडाइलाई अझ मजबुत बनाउन आवश्यक रहेको छ । भारतमा सङ्क्रमण बढेसँगै यहाँको सीमामा कडाइ गरिनु पर्दछ । चाँडै नै हामी सामान्य अवस्थामा फर्किन नसकेपनि विस्तारै हामी उठ्न सक्नेछौँ ।

क्वारेन्टाइनमा राखेर उद्योग सञ्चालन गर्न सम्भव छैन – नन्द किशोर राठी, पशुपति पोली प्रोपलिन इण्डष्ट्रिज प्रालि

सरकारले उद्योगका कामदारलाई उद्योगमै क्वारेन्टिनमा राखेर उद्योग सञ्चालन गर्नु भन्ने कुरा सबै उद्योगमा सम्भव छैन । सबै उद्योगले यसको लागि व्यवस्थापन गर्न सक्दैन, न त कामदार नै त्यसको लागि तयार हुने अवस्था छ । हामीकहाँ विभिन्न किसिमका उद्योग छन् । उद्योग सञ्चालन भएर उत्पादित सामानको माग बजारमा नभइ त्यसलाई उद्योगमा भण्डार गरेर मात्र हुँदैन ।

उत्पादन सम्बन्धित पसल व्यवसाय नखुले उद्योगले उत्पादन मात्र गर्नु अर्थहीन हुन्छ । सरकारले के कसरी सञ्चालन गर्ने र बजार चलायमान गराउने भन्ने निर्देशिका जारी गरेको छैन । यसमा सरकारको गृहकार्य नपुगेको बुझिन्छ । बजारलाई चलायमान बनाउनको लागि सङ्क्रमणको पहिचान तीव्र बढाउनु पर्दछ । यसपश्चात कुनकुन ठाउँ कसरी सञ्चालन गर्ने भनेर एउटा उपाय निस्किन सक्छ । हाल सरकारले गरेको घोषणा अपुरो भएको छ ।

विना गृहकार्य उद्योग चलाउने घोषणा भयो – सुरेन्द्र गोल्छा, निर्देशक, गोल्छा अर्गनाइजेसन

सरकारले विभिन्न उद्योग तथा व्यवसाय सञ्चालन गर्न पाउने घोषणा त गर्‍यो तर यो विना गृहकार्य गरेको देखियो । उद्योग सञ्चालन गर्ने कार्यविधि र निर्देशिका सङसङै आउन पथ्र्यो । उद्योगीहरूले विभिन्न माग गरिरहेको बेला मुख बन्द गर्ने किसिमको व्यवहार जस्तो मात्र देखियो । उद्योगी तथा व्यापारीलाई अलमलाउन खोजेको मात्र पाइयो । उद्योगलाई कसरी सुरक्षित ढङ्गले चलाउने भन्ने सरकारको निर्देशिकाको पर्खाइमा छौँ ।

उद्योगमा विभिन्न समस्या आउन सक्छन् । कहिले उद्योगको मेसिन बिग्रिन्छ । ती मेसिन मर्मत गर्ने वातावरण के छ ? कहिले एक उद्योगबाट अर्को उद्योगमा सामान आयात–निर्यात गर्नुपर्ने हुन्छ । यसलाई कुन ढङ्गबाट गर्ने ? यस किसिमका उद्योग सञ्चालनसँग सम्बन्धित पक्षहरू धेरै छन् । सरकारले यसको सुक्ष्म अध्ययन गर्नुपर्छ । सरकारले उद्योग तथा व्यवसायलाई समानान्तर रूप दिनलाई गृहकार्य गरी कदम चाल्न ढिलाइ गर्नुहुँदैन ।

विभिन्न पसल तथा व्यवसाय सञ्चालन गर्नुपर्छ । निर्माण कार्यलाई स्वीकृति दिनुपर्छ । यातयात कसरी सञ्चालन गर्ने भनेर योजना बनाउनुपर्छ । लापरवाही ढंगले उद्योग व्यवसाय सञ्चालन गरियो भने फेरि अर्को जोखिम न आउला भन्न सकिन्न । त्यसैले सङ्क्रमण पहिचान गर्नको लागि जाँच प्रक्रियालाई अगाडि बढाउनु पर्दछ । चुनौतिबीचमा पनि सुरक्षित उपायहरू खोज्नको लागि सरकारको गृहकार्य पुगेकै छैन ।

कसरी उद्योग सञ्चालन गर्ने भनेर निर्देशिका पर्खिरहेका छौँ – अविनाश बोहोरा, निर्देशक, बोहोरा ग्रुप प्रालि

नेपालको परिस्थितिमा लकडाउन आवश्कता हो । तर सधैँ लकडाउन गरेर आर्थिक क्षमता देशले धान्न सक्दैन । सरकारले घोषणा गरेअनुसार विभिन्न उद्योग तथा व्यवसाय सञ्चालनमा आउने कुरा राम्रै हो । तर के कसरी सञ्चालन गर्ने भन्ने निर्देशिका पर्खिरहेका छौँ । उद्योग सञ्चालन गरेर मात्र हुँदैन उत्पादन बिक्री गर्ने ठाउ पनि हुन पर्‍यो ।

संक्रमितको आधारमा विभिन्न जोन त निर्धारण गरियो तर ती क्षेत्र कसरी चलायमान गर्ने वा नगर्ने भनेर अध्ययन हालसम्म गरिनुपर्थ्यो । यहाँ धेरै उद्योगहरू उठ्न नसक्ने अवस्थामा पनि छन् । ती उद्योगलाई सञ्चालन गर्न मजदूरहरूको मुभमेन्ट कसरी सहजीकरण गर्ने भन्ने सोच्नुपर्छ । सरकारले उद्योगमै क्वारेण्टिन बनाएर सञ्चालन गर्नु भनेको छ ।

त्यो गर्न सके त अत्ति उत्तम हो तर सबै उद्योगले त्यो गर्ने सम्भाव छैन । क्वारेन्टिनको प्राक्टिस नेपालमा पहिलो हो । उद्योगको कर्मचारीलाई कसरी नियन्त्रण गर्ने जस्ता प्लानिङ उद्योगले पनि बनाउनु पर्दछ । त्यसमा सहयोग सरकारले गर्नुपर्छ । एक जोनदेखि अर्को जोनमा कसरी सामान आयात निर्यात गर्ने योजना महत्त्वपूर्ण छ । विभिन्न पक्षको लागि आवश्यक गृहकार्य सरकारको नपुगेको भन्ने महशुस भएको छ ।