काठमाडौं, २६ वैशाख । नेपाल प्रहरीले निषेधित क्षेत्र तोडेको जनाउँदै चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

सिंहदरबार प्रहरी वृत्तका प्रहरी निरीक्षक वेद पौडेलका अनुसार बन्दाबन्दीका समयमा निषेधित क्षेत्रको उल्लंघन गरी प्रहरीमाथि आक्रमण गरेपछि तिनलाई पक्राउ गरिएको हो ।
सिंहदरबार अगाडिबाट साढे ३ बजे करीब २५ चिनियाँलाई पक्राउ गरिएको हो ।
उनले निषेधित क्षेत्र तोडे सिंहदरबार आएर प्रहरीमाथि नै आक्रमण गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको बताए ।
ती नागरिक घर जान पाउनुपर्ने माग राख्दै ‘वी वान्ट टु गो ब्यााक होम’ प्ले कार्ड बोकेर निषेधित क्षेत्र तोडी सिंहदरबारतर्फ आएका थिए ।
उनले भने, “उनीहरू निषेधित क्षेत्रतर्फ आउन थालेपछि हामीले रोक्यौँ तर उनीहरु नमानेर सिंहदरबारसम्म आए । सिंहदरबार आएर पनि हामीमाथि आक्रमण गरेपछि हामीले तिनीहरुलाई नियन्त्रण लिएका हौँ ।”
उनीहरूले प्रहरीको लाठी खोसेर तिनलाई नै हिर्काएका थिए । त्यसको जवाफमा प्रहरीले पनि उनीहरुमाथि लाठी हानेको थियो ।
लाठीबाट प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतको टाउकामा चोट लागेको छ । प्रहरी निरीक्षक पौडेलका अनुसार बस्नेतसहित नेपाल प्रहरीका पाँच र उनीहरुतर्फ ६ घाइते भएका छन् ।
पक्राउ गरी तिनीहरुलाई भुकृटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको उनले जानकारी दिए ।
प्रहरीले भद्रकालीबाट नै प्रवेश गर्न नदिए पनि उनीहरु ठेलमठेल गर्दै सिंहदरबार पुगेका थिए ।
पर्यटक राहदानीमा घुम्न आएका ती चिनियाँ ठमेलबाट रानीपोखरी, रत्नपार्क हुँदै सिंहदरबारतर्फको निषेधित क्षेत्रतर्फ आएका हुन् । रासस