हाजार्ड मैदान फर्किन तयार

एजेन्सी, २६ वैशाख । रियल मड्रिडका स्ट्राइकर इडेन हाजार्ड मैदान फर्किन तयार देखिएका छन् । केही समय अगाडि घाइते भएर मैदानबाहिर रहेका बेल्जियन स्टार हाजार्ड अब निको भएका छन् ।

बुधबार उनी कोरोना परीक्षणका लागि रियल मड्रिडको प्रशिक्षण मैदान फर्किएका थिए । रियल मड्रिडले प्रशिक्षण सुचारु गर्ने तयारी थालेको छ । प्रशिक्षण अगाडिको कोरोना परीक्षणमा रियलको टोलीका साथमा हाजार्ड पनि देखिएका थिए ।

यसै सिजन मात्र इंग्लिस क्लब चेल्सीबाट सान्टियागो बर्नाबेउ आएका उनी २२ फेब्रुअरीबाट मैदानबाहिर नै थिए । लेभान्टेविरुद्धको खेलमा चोट बोेकेका हुन् । उनले त्यहाँ आफ्ना प्रशिक्षक जिनेदिन जिदानसँग कुराकानी गरेका थिए ।

जसमा उनले आफू मैदान फर्किन तयार रहेको बताएका थिए । आगामी २ सातापछि आफू पूर्ण रूपमा फिट भइसक्ने उनको भनाइ थियो ।

यसैगरी उनले अहिले नै फर्किन सम्भव नरहेको खण्डमा सन् २०२० को युरोपियन च्याम्पियनसिपमा चाहिँ फर्किने बताए । यद्यपि, सो प्रतियोगिता पनि कोरोनाका कारण स्थगित भएको छ ।

Loading...