डेम्बेलेबाहेक बार्सिलोनाका सबै खेलाडीको कोरोना रिपोर्ट ‘नेगेटिभ’

एजेन्सी, २६ वैशाख । स्पेनिस क्लब बार्सिलोनाका सबै खेलाडीको कोरोना भाइरस रिपोर्ट ‘नेगेटिभ’ आएको छ । बुधबार गरेका कोरोना परीक्षणमा सबै खेलाडीको रिपोर्ट नेगेटिभ आएको ‘आरएसी१’ मिडियाले जनाएको छ ।

कोरोना भाइरसबाट बच्न सतर्कता अपनाउँदै बार्साका खेलाडीहरू बुधबार प्रशिक्षण मैदान फर्किएका थिए । मास्क–पञ्जा लगाएर मैदान उत्रिएका उनीहरूको कोरोना भाइरस परीक्षण भएको थियो ।

कोरोना परीक्षणको नतिजा भने बिहीबार आएको र सबैको नेगेटिभ आएको बताइएको छ । स्टार खेलाडी ओस्मान डेम्बेलेबाहे अरु सबैको परीक्षण भएको थियो । डेम्बेले घाइते भइ उपचाररत रहेका छन् ।

अब यससँगै बार्साका खेलाडीलाई प्रशिक्षणको बाटो खुलेको छ । बार्सिलोनाले आगामी शुक्रबारदेखि प्रशिक्षण थाल्ने योजना बनाएको छ । शुक्रबार (आज) ला लिगा च्याम्पियन क्लब बार्सिलोनाले विज्ञप्ति जारी गर्दै १५ मेबाट प्रशिक्षण थाल्ने जानकारी दिएको हो ।

लिग जुन महिनाबाट सुचारु हुने भएपछि क्याप नोउका खेलाडीहरूले शुक्रबारबाट व्यक्तिगत अभ्यास थाल्ने भएका हुन् । स्पेनिस ला लिगा जुन महिनाबाट सुचारु गर्ने तयारी गरिएको छ ।

कोरोना भाइरसका कारण स्थगित लिग जुनबाट सुचारु गर्ने लक्ष्य आयोजकले राखेको हो । कोरोनाका कारण गत ९ मार्चबाट ला लिगा स्थगित छ । ला लिगामा ११ चरणका खेल बाँकी छन् ।

अंकतालिकामा साविकको विजेता बार्सिलोना शीर्ष स्थानमा रहँदा रियल दोस्रो स्थानमा छ । रियल २ अंकले बार्सिलोनाभन्दा पछि परेको छ ।

Loading...