पीएसजीका स्टार एम्बाप्पेलाई गोल्डेन बुट

एजेन्सी, २६ वैशाख । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का युवा स्टार किलियन एम्बाप्पेलाई गोल्डेन बुट दिइने पक्का भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) का कारण लिग रद्द भएपछि च्याम्पियन पीएसजीका स्ट्राइकर एम्बाप्पेलाई गोल्डेन बुट दिइने भएको हो ।

मोनाकोका विसम बेन यड्डरसँग बराबरी गोल भएपनि गोल रेसियोका आधारमा एम्बाप्पेलाई गोल्डेन बुट दिइने भएको हो ।

कोरोना भाइरसबाट लिग रद्द हुनुअगाडि एम्बाप्पेले २० खेल खेल्दै १८ गोल गरेका थिए । यता, यड्डरले पनि समान गोल गरेका थिए । तर, गोल रेसियोका आधारमा एम्बाप्पेलाई गोल्डेन बुट दिइने पीएसजीले आधिकारिक वेबसाइटमा लेखेको छ ।

यड्डरले २६ खेलमा १८ गोल गरेका थिए । विश्वकप विजेता एम्बाप्पेको गोलको रेसियो ०.९ रहेको थियो ।

एम्बाप्पेले अघिल्लो सिजनमा पनि गोल्डेन बुट जितेका थिए । सन् २०१८–१९ को सिजनमा उनले २९ खेलमा ३३ गोल गरेका थिए ।

अघिल्लो साता मात्र फ्रान्सेली सरकारले कोरोना महामारीका कारण लिग सुचारु गर्न सम्भव नरहेको बताएपछि लिग वान रद्द भएको थियो । जसकारण १२ अंकले अगाडि रहेको पीएसजीलाई उपाधि दिइएको थियो ।

Loading...