बार्सिलोनाले शुक्रबारदेखि प्रशिक्षण थाल्ने पक्का

एजेन्सी, २६ वैशाख । स्पेनिस क्लब बार्सिलोनाले आगामी शुक्रबारदेखि प्रशिक्षण थाल्ने पक्का भएको छ । शुक्रबार (आज) ला लिगा च्याम्पियन क्लब बार्सिलोनाले विज्ञप्ति जारी गर्दै १५ मेबाट प्रशिक्षण थाल्ने जानकारी दिएको हो ।

लिग जुन महिनाबाट सुचारु हुने भएपछि क्याप नोउका खेलाडीहरूले शुक्रबारबाट व्यक्तिगत अभ्यास थाल्ने भएका हुन् । कोरोना भाइरसका कारण उनीहरूले २ महिनायता मैदान उत्रिन पाएका थिएनन् ।

स्पेनिस ला लिगा जुन महिनाबाट सुचारु गर्ने तयारी गरिएको छ । कोरोना भाइरसका कारण स्थगित लिग जुनबाट सुचारु गर्ने लक्ष्य आयोजकले राखेको हो । कोरोनाका कारण गत ९ मार्चबाट ला लिगा स्थगित छ ।

कोरोना भाइरसबाट बच्न सतर्कता अपनाउँदै बार्साका खेलाडीहरू बुधबार प्रशिक्षण मैदान फर्किएका थिए । २ महिनायता बार्सिलोनाका खेलाडीहरूबीच भेटघाट भएका थिएन ।

मास्क–पञ्जा लगाएर उनीहरू कोरोना भाइरस परीक्षण र शरीरको तापक्रम नापेर उनीहरू मैदान प्रवेश गरेका थिए । कोरोना परीक्षणको नतिजा भने केही दिनपछि आउने बताइएको छ । नेगेटिभ आउने खेलाडीले प्रशिक्षण गर्न पाउनेछन् ।

ला लिगामा ११ चरणका खेल बाँकी छन् । अंकतालिकामा साविकको विजेता बार्सिलोना शीर्ष स्थानमा रहँदा रियल दोस्रो स्थानमा छ । रियल २ अंकले बार्सिलोनाभन्दा पछि परेको छ ।

Loading...